साँफेबगर । न्यायीक समितिको काम, कर्तव्य र अधिकार तथा लैंगिक हिंसा निवारण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम नवाठानामा सम्पन्न भएको छ।
साँफेबगर नगरपालिका न्यायीक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर ५ नवाठानाका अगुवाहरु, सरोकारवाला, महिला संजालका पदाधिकारी, दलित संजालका पदाधिकारी,युवा, टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि लगायतको सक्रिय सहभागितामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा न्यायीक समितिको काम, कर्तव्य र अधिकार बारे प्रशिक्षण गराइएको थियो । न्यायीक समिति स्थानीय स्तरमै छिटो, सहज र सुलभ न्याय दिने प्रभावकारी माध्यम भएको र यसको अधिकार र प्रक्रिया बारे नागरिक सचेत हुन आवश्यक रहेको कुरा सहभागीलाई अवगत गराइएको थियो ।
प्रशिक्षण गराउदै नगर उप प्रमुख एवं न्यायीक समिति संयोजक कुँवरले स्थानीय तहमा हुने साना–ठूला विवाद समाधानमा न्यायीक समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो। उहाँले लैंगिक हिंसा अन्त्यका लागि समुदाय स्तरबाटै सचेतना अभिबृधि आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो।
उहाँले भन्नु भयो, “न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न र लैंगिक हिंसा मुक्त समाज निर्माण गर्न हामी सबैको सहकार्य आवश्यक छ । स्थानीय तहबाटै सचेतना फैलाउँदै लैजान सके मात्र दिगो परिवर्तन सम्भव हुन्छ।”
त्यसैगरी, लैङ्गिक हिंसा निवारण सम्बन्धी विषयमा साँफेबगर नगरपालिका लैङ्गिक हिंसा निवारण कोषका सदस्य अप्सरा कुँवरले सहजीकरण गर्नुभएको थियो । उहाँले “लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरबाटै आवाज उठाउनुपर्छ । हिंसा सहेर बस्नु समाधान होइन, उजुरी र सचेतना नै परिवर्तनको पहिलो कदम हो।” भन्दै सहभागीलाई प्रशिक्षण गराउनु भएको हो ।
यस्तै वडा अध्यक्ष मक्कर कुँवरले मन्तव्य राख्दै भन्नु भयो “न्यायिक समितिको काम, कर्तव्य र अधिकार बारे जनचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। विशेष गरी महिला तथा लैंगिक हिंसाबाट प्रभावित समुदायलाई न्यायमा पहुँच सहज बनाउने हाम्रो लक्ष्य हो। यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय तहमा न्यायिक सेवा प्रभावकारी बनाउन ठूलो टेवा पुग्ने विश्वास लिएका छौं।”


