परिणम देखिने गरि काम गर्न कर्मचारीलाई सांसद संग्रौलाको निर्देशन


पैरवी खबर

टेकबहादुर थापा
अछाम । सांसद टीका संग्रौला (ज्वालाले) परिणम देखिने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । अछाम जिल्लाका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु संग अछामको विकास निर्माण र नागरिकले भोगीरहेका समस्याका बारेमा जानकारी लिने उदेश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद संग्रौलाले राज्यले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरागरि परिणाम दिन निर्देशन दिनुभएको हो । अछाम जस्तो विकट क्षेत्रमा आएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहनु भएका कर्मचारीलाई धन्यवाद दिदै उहाले कतिपय कार्यालयहरुको काम बाट आफु सन्तुष्ट नभएको बताउनुभयो । कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई अहिलेको काम गर्ने तवर तरिका परिवर्तन गर्न उहाले सुझाव समेत दिनुभएको छ ।
आफु कुरा भन्दापनि परिणाममा विश्वाश गर्ने सांसद भएकाले राम्रो काम गर्ने कार्यालय प्रमुखहरुलाई पुरस्कृत गर्ने तर आफ्नो काममा ईमान्दार नहुने, भ्रष्टाचारलाई प्रसय दिने, ढाट्ने र जनतालाई दँुख दिने कर्मचारीलाई तत्काल कार्वाही हुने समेत चेतावनी दिनुभएको छ । सांसद संग्रौलाले जिल्लामा बसुन्जेल एक ईमान्दार र कुशल प्रशासकको छवि बनाउन अनुरोध गर्नुभएको थियो ।
केही सरकारी कार्यालयहरुले जनताको मन जित्नेगरि काम गरेको तर कतिपय सरकारी कार्यालय प्रमुख जागिर खान मात्र आएको जस्तो महसुस आफुलाइ भएको भन्दै सांसद संग्रौलाले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र गलत गर्ने कर्मचारीलाई दण्डीत गर्ने अहिलेको सरकारको मुख्य एजेण्डा रहेको उहाको भनाई छ । आफुले जिल्लाको विकास निर्माण, नागरिकले भोगी रहेका समस्याका बारेमा निरन्तर नागरिकहरु संग छलफल गरिरहेकाले नागरिकका गुनासाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कतिपय कार्यालयहरुमा सेवाग्राही जादा अनावश्यक रुपमा दुख दिएको, कार्यालयमा कर्मचारी फेला नपर्ने जस्ता गुनासाहरु पनि आएकाले यस तर्फ जिल्ला प्रशासन कार्यालय अछामले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
अछाम जिल्लाकै देशकै गरिब जिल्लाको सुचीमा पर्नु आफैमा दुखद कुरा भएकाले अबको ५ वर्ष यो जिल्लालाई अहिलेको अवस्था बाट माथि उठाउनुपर्ने र त्यसका लागी कर्मचारीहरुले ईमान्दारिता देखाउनुपर्ने बताउनुभयो । तपाई हामी सबैले हातेमालो गरेर अघि बढ्ने हो भने जिल्लाका अधुरा विकास निर्माणका कामहरुले पनि पुर्णता पाउने भएकाले आफ्नो परिभाषित जिम्मेवारी कुशलता पुर्वक पालना गर्न निर्देशन दिनुभएको थियो । यस क्षेत्रका गौरवका आयोजनाहरुको निर्माण कार्य सुस्त देखिएको हुदा यस तर्फ सांसद संग्रौलाले सबैभन्दा बढी चासो राख्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय अछाममा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अछामका प्रमुखजिल्ला अधिकारी यज्ञ बहादुर बुढा, मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना, अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी अछामका सभापति ओमप्रकाश रावल लगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।