साँफेबगर । साँफेबगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुनौला १००० दिनका आमाहरू तथा ५ वर्ष मुनिका बालबालिकाको पोषण सुधारका लागि विशेष अभिमुखीकरण तथा पोषण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा साँफेबगर नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा हुने कुपोषणको अवस्था पहिचान गरी समयमै उपचार सेवा सुनिश्चित गर्नु रहेको बताइएको छ । विशेषगरी शिघ्र कुपोषण (SAM र MAM) को पहिचानलाई प्राथमिकतामा राखिएको थियो ।
कार्यक्रममा पोषण लेखाजोखा कार्यलाई प्रभावकारी बनाउन मोबाइल एप (Kobo) मार्फत तथ्यांक संकलन गरिने जानकारी दिइएको छ । यसले तथ्यांक व्यवस्थापनलाई थप व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिका स्वास्थ्य शाखाका नरेश रावतले गरेका थिए भने अध्यक्षता नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले गरेका थिए । कार्यक्रममा जनस्वास्थ्य निर्देशक लक्ष्मणनाथ योगीले कार्यक्रमका प्रस्तुतकर्ता तथा प्रशिक्षकको भूमिकामा रहँदै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । साथै नगर उपप्रमुख शिव बहादुर कुँवर अतिथिको रूपमा सहभागी भएका थिए ।
कार्यक्रमले स्थानीय स्तरमा पोषण सुधारका लागि आवश्यक ज्ञान, सीप र समन्वय अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।


