हिरासत मृत्यु प्रकरण : सिन्धुली प्रशासन अगाडि रास्वपा सांसदहरूको धर्ना, निष्पक्ष छानबिनको माग


पैरवी खबर

काठमाडौं । सिन्धुलीमा हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणले राजनीतिक र सामाजिक रूपमा तरंग पैदा गरेको छ । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटअगाडि धर्नामा बसेका छन्।
धर्नामा सहभागी हुनेहरूमा सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक र आशिष गजुरेल रहेका छन्। उनीहरूले घटनालाई गम्भीर मानवअधिकार उल्लंघनको रूपमा चित्रित गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
सांसद खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत प्रहरीमाथि गम्भीर आरोप लगाएका छन्। अन्तरजातीय विवाहको आरोपमा पक्राउ परेका श्रीकृष्ण विकलाई हिरासतमा कुटपिट गरी हत्या गरिएको र घटनालाई ढाकछोप गर्न प्रशासनले दबाब दिएको पीडित पक्षको भनाइ उद्धृत गर्दै उनले दाबी गरेका छन्।
धर्नामा बसेका सांसदहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुख (एसपी) तथा खुर्कोटस्थित प्रहरी इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी स्वतन्त्र छानबिन गर्नुपर्ने, साथै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेका छन्।
यसैबीच, उनीहरूले सर्वसाधारणलाई पनि न्यायको पक्षमा उभिन आग्रह गर्दै बिहान १० बजे प्रशासन कार्यालय परिसरमा उपस्थित हुन अपिल गरेका छन्।