दलित युवकको हिरासतमा मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न आयोगको ध्यानाकर्षण


पैरवी खबर

काठमाडौँ। राष्ट्रिय दलित आयोगले सिन्धुलीका श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अन्तरजातीय विवाह गर्दा पक्राउ परेका दलित युवक सुनकोसी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्णको प्रहरी हिरासतमा रहेकै बेला सोमबार ज्यान गएको थियो। प्रहरीले उनले आत्महत्या गरेको दाबी गरेको छ भने पीडित परिवारले प्रहरीकै मिलेमतोमा युवकको हत्या गरिएको आरोप लगाएका छन्।

बुधबार आयोगका प्रवक्ता एवम् सदस्य सुन्दर पुर्कुटीले विज्ञप्ति जारी गर्दै घटनालाई आयोगले गम्भीरपूर्वक लिएको बताएका छन्।

‘अनुसन्धान तथा छानबिनका क्रममा दलित समुदायमाथि हुने क्रूर शारीरिक तथा मानसिक यातनाका विगतका तथ्यहरूले यस घटनाप्रति थप चिन्ता व्यक्त गर्न बाध्य बनाएको छ,’ आयोगका प्रवक्ता पुर्कुटीले भनेका छन्।

आयोगले अघि भनेको छ- ‘प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले अत्यन्त संवेदनशील र चिन्ताजनक विषय हो। यस्तो घटनाले कानुनी शासन, मानव अधिकार संरक्षण तथा राज्यप्रति नागरिकको विश्वासमाथि गम्भीर प्रश्न खडा गर्दछ। उक्त घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं।’

आयोगले घटनामा संलग्न जो–कोही दोषी भए पनि कानुनबमोजिम कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न आग्रह गरेको छ।