प्रकाश धौलाकोटी
काठमाडौँ। अन्तरजातीय विवाह गर्दा पक्राउ परेका दलित युवकको प्रहरी हिरासतमै ज्यान गएको छ। प्रहरीले युवकले आत्महत्या गरेको दाबी गरेको छ भने पीडित परिवारले प्रहरीकै मिलेमतोमा युवकको हत्या गरिएको आरोप लगाएका छन्।
सुनकोसी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेकै बेला ज्यान गएको हो। तर उनले आत्महत्या गरेका हुन् वा प्रहरीको यातनाका कारण मृत्यु भएको हो भन्ने रहस्य बनेको छ।
प्रहरीले श्रीकृष्णले आत्महत्या गरेको देखेपछि उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको भनेको छ। तर परिवारले भने षड्यन्त्रपूर्वकरुपमा प्रहरीकै मिलेमतोमा श्रीकृष्णको हत्या गरिएको आरोप लगाएका छन्।
झुन्डिएको भनिएका श्रीकृष्णलाई डोरी काटेर छुटाएर उपचारका लागि लैजाने बेला परिवार र समाज कसैसँग पनि सोधपुछ र जानकारी नभएको परिवारको भनाइ छ।
प्रहरीकाअनुसार १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद लिइएको थियो।
अनुसन्धानकै लागि इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शौचालयमा झुण्डिएको अवस्थामा फेला पारी उपचारको क्रममा श्रीकृष्णको ज्यान गएको सिन्धुली प्रहरी प्रवक्ता सुर्यप्रकाश सुवेदीले जानकारी दिए।
श्रीकृष्णको मृत्यु शंकास्पद रहेको भन्दै सांसद खगेन्द्र सुनारले न्यायका लागि अपिल गरेका छन् भने राष्ट्रिय दलित आयोगले पनि घटनाका विषयमा निष्पक्षरुपमा छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मृतकको शव जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ भने बुधबार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। सरोकारवाला र अधिकारकर्मीहरूले न्यायका लागि अपिल गरिरहेका छन्।
सातदोबाटोबाट पक्राउ परेका थिए श्रीकृष्ण
खुर्कोट हिरासतमा ज्यान गुमाएका श्रीकृष्णलाई प्रहरीले ललितपुरको सातदोबाटोबाट हिरासतमा लिएको थियो। प्रहरीले हिरासतमा लिनुको कारण थियो- जबरजस्ती करणी। तर घटनाको वास्तविक तथ्य भने अलग छ। श्रीकृष्णले जबरजस्ती करणी होइन, आफ्नी प्रेमिकासँग राजी खुसी विवाह गरेका थिए।
सुनकोसीका श्रीकृष्ण साढे तीन वर्षदेखि ललितपुरको सानागाउँमा बस्थे। गाडी चलाएर गुजारा चलाउँदै आएका थिए। ललितपुरमा बस्दा, काम गर्दा खोटाङकी १७ वर्षीया निर्जला मगरसँग उनको चिनाजानी भयो। उनीहरू नजिकिए, परिवारका अनुसार उनीहरूबीच करिब २ वर्षदेखि प्रेम सम्बन्ध थियो।
प्रेम सम्बन्धमा रहेका उनीहरूले २८ चैतमा भागेर बिहे गरे। युवती श्रीकृष्णको सानागाउँस्थित कोठामा भित्रिइन्। प्रेमिका आफूसँगै आएपछि श्रीकृष्णले अब सानागाउँमा रहनुभन्दा गाउँ जानु उपयुक्त र सुरक्षित हुने ठानेँ। १ वैशाखमा नयाँ वर्ष मनाउँदै उनीहरू सिन्धुलीको सुनकोसी पुगे।
२ वैशाखमा उनीहरूलाई केटीका आफन्त र सातदोबाटो प्रहरीबाट फोन गयो- यहाँ आउनु, कुरा मिलाउँला। त्यसपछि उनीहरू ३ वैशाखमा सातदोबाटो प्रहरीमा हाजिर भए। सुरुवातमा प्रहरीसँग कुरा गर्दा युवतीले आफू केटासँग राजी खुसीले बिहे गर्न चाहेको र गएको बयान दिएकी थिइन्। तर केटी कम उमेरकी भएकै कारण प्रहरीले केटा-केटीलाई छुटाएर बलात्कारको मुद्दा चलाएको पाइएको छ।
श्रीकृष्णकी आमा विन्दामाया विकले प्रहरीकै मिलेमतोमा आफ्नो छोराको हत्या भएको आरोप लगाएकी छन्।
उनले भनेकी छन्- ‘केटीले केटालाई कुनै मुद्दा चलाउने हो भने आफू पनि चौकीमै बस्छु, जबरजस्ती गरेर छुटाए आफू आत्महत्या गर्ने भनी अडान लिएको हामी आफैँले सुनेका हौँ। त्यसरी केटालाई छाडिदिने भनेर केटीलाई छुटाएर प्रहरीले जबरजस्ती परिवारको जिम्मा लगायो। पछि हाम्रो छोरालाई जबरजस्ती करणी मुद्दा लगाएर थुनेको हो। विवाहको कुरा कसरी जबरजस्ती करणी भयो ?’
उनले प्रहरीले थुनुवा अवस्थामा रहेको बेला प्रहरीले मानसिक र शारीरिक यातना दिएको भनेर श्रीकृष्णले सुनाएको समेत बताइन्। जबरजस्ती करणी कसुरमा मुद्दा चलाएको प्रहरीले वैशाख ४ गते जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी खुर्कोट प्रहरीको हिरासतमा राखेका थिए।
विन्दादेवी भन्छिन्- ‘मेरो छोरालाई ४ गते नै यहाँ ल्याएका रहेछन्। तर हामीलाई थाहै दिएनन्। वैशाख ७ को साँझ ४ बजे एक्कासी फोन आयो- तिम्रो छोरा प्रहरी कार्यालयको शौचालयमा आफ्नै सटको पासो लगाएर झुन्डिएको छ भनेर। तर हामी पुग्दा झुन्डिएको देख्न पाइएन।’


