साँफेबगर । साँफेबगर नगरपालिका सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाको आयोजनामा साँफेबगर नगरपालिकाको वडा नम्बर १४ पातलकोटमा व्यक्तिगत घटना दर्ता सप्ताहको अवसरमा कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रममार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटनाको समयमै दर्ता गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो भने सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्बन्धी विषयमा पनि सहभागीहरुलाई अभिमुखीकरण गरिएको थियो।
१४ नम्बर वडाका वडा अध्यक्ष सन्जु थापाको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको संचालन तथा प्रशिक्षण सामाजिक सुरक्षा तथा पन्जीकरण शाखाका फिल्ड सहायक पदम बादीले गर्नुभएको थियो ।
कार्यक्रमले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै नागरिकलाई आफ्नो अधिकारप्रति सचेत गराउने अपेक्षा गरिएको छ।


