सुत्केरी महिलालाई प्रोत्साहन: साँफेबगरका मेडिकल व्यवसायी बुढाद्वारा नगद, पोषण र न्यानो लुगा वितरण


पैरवी खबर

साँफेबगर ।
अछामको साँफेबगरमा एक स्थानीय मेडिकल व्यवसायीले सुत्केरी महिलाको स्वास्थ्य र पोषण सुधारका लागि उदाहरणीय कार्य सुरु गरेका छन्।
कोकिला कला जनसेवा मेडिकल हल, साँफेबगर–४ का प्रोप्राइटर (प्रमुख) राजन कुमार बुढाले सुत्केरी महिलालाई प्रोत्साहनस्वरूप नगद, पोषण सामग्री तथा स्वास्थ्य परामर्श प्रदान गरेका हुन्।
बुढाले साँफेबगर नगरपालिका वडा नम्बर–५, नवाठाना तिरुवाबाडाकी २५ वर्षीया सुत्केरी अमिशा तिरुवालाई नगद रु. १ हजार, पोषणका लागि एक क्यारेट अण्डा, बच्चाका लागि न्यानो लुगा तथा आवश्यक स्वास्थ्य परामर्श हस्तान्तरण गरेका छन्।
यससँगै उनले अबदेखि आफ्नै वडा नवठानाका सुत्केरी महिलालाई नियमित रूपमा प्रोत्साहनस्वरूप नगद रु. १ हजार, पोषण सामग्री (एक क्यारेट अण्डा), नवजात शिशुका लागि न्यानो लुगा र स्वास्थ्यसम्बन्धी परामर्श उपलब्ध गराउने घोषणा गरेका छन्।
सामाजिक सेवामा समेत सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्दै बुढाले आफू स्वास्थ्य सेवासँगै समाजसेवामा पनि समर्पित रहने बताए। उनी लामो समयदेखि साफेबगर क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।
कोकिला कला जनसेवा मेडिकल हलको सेवा क्षेत्र अछामको जयगढ तथा रामारोशन गाउँपालिकाको मुजाबगरसम्म रहेको छ। त्यहाँ कोकिला कला जनसेवा मेडिकल हलको शाखा खोलिएको छ ।