साँफेबगर । साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा न्यायीक समितिको काम, कर्तव्य र अधिकार तथा लैङ्गिक हिंसा निवारण सम्बन्धी १ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
साँफेबगर नगरपालिका न्यायीक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. १२ खप्तडका अगुवाहरु, सरोकारवाला, महिला संजालका पदाधिकारी , दलित संजालका पदाधिकारी,युवा , जनप्रतिनिधि लगायतको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम न्यायीक समिति संयोजक शिव बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो ।
सचेतनामुलक कार्यक्रममा न्यायीक समितिको काम, कर्तव्य र अधिकारबारे साँफेबगर नगरपालिका कानुन शाखाका प्रमुख एवं उजुरी प्रशासक नृप विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो । उहाँले“न्यायीक समिति स्थानीय स्तरमै छिटो, सहज र सुलभ न्याय दिने प्रभावकारी माध्यम हो । यसको अधिकार र प्रक्रियाबारे नागरिक सचेत हुन आवश्यक रहेको कुरा पनि अवगत गराउनु भयो ।
त्यसैगरी, लैङ्गिक हिंसा निवारण सम्बन्धी विषयमा साँफेबगर नगरपालिका लैङ्गिक हिंसा निवारण कोषका सदस्य अप्सरा कुँवरले सहजीकरण गर्नुभएको थियो । उहाँले “लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरबाटै आवाज उठाउनुपर्छ । हिंसा सहेर बस्नु समाधान होइन, उजुरी र सचेतना नै परिवर्तनको पहिलो कदम हो।” भन्दै सहभागीलाई प्रशिक्षण गराउनु भएको हो ।
वडा अध्यक्ष जनक कडायतले आफ्नो मन्तव्य राख्दैभन्नु भयो : “न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे जनचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । विशेष गरी महिला तथा लैङ्गिक हिंसाबाट प्रभावित समुदायलाई न्यायमा पहुँच सहज बनाउने हाम्रो लक्ष्य हो। यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय तहमा न्यायिक सेवा प्रभावकारी बनाउन ठूलो टेवा पुग्ने विश्वास लिएका छौं।”
कार्यक्रमलाई समापन गर्दै नगर उप-प्रमुख एवं न्यायीक समिति संयोजक शिव बहादुर कुँवरले स्थानीय तहमा हुने साना–ठूला विवाद समाधानमा न्यायीक समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न र लैङ्गिक हिंसा मुक्त समाज निर्माण गर्न हामी सबैको सहकार्य आवश्यक छ । स्थानीय तहबाटै सचेतना फैलाउँदै लैजान सके मात्र दिगो परिवर्तन सम्भव हुन्छ।”
कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन । सोही कार्यक्रम शुक्रबार साँफेबगर नगरपालिका २ जाल्पादेवीमा पनि सम्पन्न भएको थियो ।


