अछाममा एक मात्र सेफ हाउस संचालन हुने, आर्थिक सहयोग गर्ने सबै जनप्रतिनिधिको प्रतिबद्धता


पैरवी खबर

अछामका १० वटै पालिकाका जनप्रतिधिहरुले अछाम जिल्लामा संचालित सुरक्षित आवासगृह (सेफ हाउस) लाई स्रोत साधनको अभाव हुुन नदिने प्रतिबद्धता जनाएका छन । जिल्लामा दिन प्रतिदिन महिला, बालबालिका तथा किशोरी माथि यो या त्यो बाहानामा हिंसाका घट्नाहरु भईरहेकाले अहिलेको अवस्थामा यो संस्थालाई थप मजबुद बनाएर लैजानुपर्नेमा जोड दिएका हुन । संस्थाले हाल सम्म हिंसामा परेका व्यक्तिहरुलाई राम्रो सेवा प्रदान गरिरहेकाले यसको दिगोपनाका लागि स्रोत साधनको आवश्यक्ता पर्ने र त्यो स्रोतको कमी हुन नदिन आ–आफ्नो पालिका बाट सहयोग गर्ने प्रतिबद्धता दोहो¥याएका थिए । हाल मंगलसेन नगरपालिकाले नेतृत्व गरिरहेको सेफ हाउसलाई नमुना सेफ हाउसका रुपमा विकास गर्नुपर्ने र उक्त कार्यमा निरन्तर सहयोग गर्ने जनप्रतिनिधिको भनाई थियो ।
कार्यक्रममा सहभागि अन्य सरोकारवालाहरुले पनि यो संस्थाले हिंसामा परेका महिलाहरुको क्षेत्रमा निरन्तर काम गरिरहेको भन्दै यसलाई थप व्यवस्थित बनाएर गुणस्तरिय सेवा दिनुपर्नेमा जोड दिएका थिए । हिंसामा परेर यहाँ सम्म आउने महिला तथा किशोरीहरुलाई कसरी आत्म निर्भर बनाउन सकिन्छ भन्ने तर्फपनि स्थानीय सरकारका जनप्रतिनिधिहरुले ध्यान दिन आवश्यक रहेको सुझाव दिएका छन ।
मंगलसेन नगरपालिकाको आयोजना, सिएमसी नेपालको समन्वय र युएन एप्पीए को आर्थिक सहयोगमा आयोजना गरेको लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण जिल्ला स्तरिय लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहाकार सम्बन्धी समन्वय समिति बैठकमा सहभागि सरोकारवालाले यो संस्थाले हाल सम्म गरेका कार्यहरु प्रशंसनीय रहेको भन्दै आगामी दिनमा थप गुणस्तरिय सेवा दिनुपर्ने र यसका लागि जिल्लाका १० वटै पालिका संग समन्वय सहकार्यगर्दै अघि बढ्न सुझाव दिएका थिए । सेवा दिएर मात्र नपुग्ने भन्दै उनीहरुले, गुणस्तरिय, दिगो र भरपर्दो सेवा अहिलेको आवश्यक्ता भएको बताएका छन । मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति अछामका उप प्रमुख दानमती शाही प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, पंञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने, रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउद, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउद, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवँर, पंञ्चदेवल विनायक नगरपालिका उप प्रमुख हर्कबहादुर रावल, साफेबगर नगरपालिका कार्यवाहक नगर प्रमुख मक्र बहादुर कुवँर, तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बीमला शाही, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही, रामारोशन गाउँपालिका उपाध्यक्ष सिर्जना बुढा, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुख लगायत जिल्लाका सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको उदेश्यका बारेमा युएन एप्पीएका अछाम डोटी प्रमुख भरत गोतामेले प्रकाश पार्नुभएको थियो भने सहजिकरण सिएमसी नेपालका प्रदेश संयोजक दिवाकर जोशी, साथी संस्थाका प्रमुख पलिता थापाले गर्नुभएको थियो । कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको हो । अछाम जिल्लामा एक मात्र सुरक्षित आवास गृह सेफ हाउस रहेकाले यसैलाई राम्रो बनाएर लैजाने विषयमा पनि सबैजना सहमत भएका सिएमसी नेपालका मनो सामाजिक मनो परामर्शकर्ता पार्वती बोहराले जानकारी दिनुभएको छ ।