विद्यालयमा गुनासो सुनुवाइ सम्बन्धि ३ दिने तालिम सकीयो


पैरवी खबर

अछाम जिल्लामा विद्यालयमा गुनासो सुनुवाइ सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र आस्था नेपालको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको हो । विद्यालयमा गुनासो सुनुवाइ र यसको महत्त्वबारे सहभागीहरूको बुझाईमा एकरूपता ल्याउने, बालमैत्री र गोपनीय तरिकाले गुनासो प्राप्त गर्ने र सम्बोधन गर्ने सीपहरूका बारेमा जानकारी प्रदान गर्ने तथा विद्यालयका सरोकारवालाहरूबीच जवाफदेहीता पारदर्शिता र विश्वास प्रवद्र्धन गर्न फोकल शिक्षकहरूको क्षमता सुदृढ गर्ने उदेश्यले तालीमको आयोजना गरिएको आस्था नेपालले जनाएको छ ।
तालिममा सहभागि शिक्षकहरुले यो तालिम आफुहरुका लागि निकै उपयोगी भएको भन्दै खुसी व्यक्त गरेका छन । एक विद्यालयलाई नमुना विद्यालय बनाउन महत्वपूर्ण कुराहरु सिक्ने अवसर मिलेको भन्दै सहभागी शिक्षकहरुले यस्ता तालिमहरु आगामी दिनमा पनि आवश्यक रहेको बताएका छन । यही पेशामा लामो समय देखी आवद्ध भएपनी कतिपय गर्न सकिने कुराहरु पनी गर्न नसकेको र अब तालिममा सिकेका कुराहरु आफ्नो विद्यालयमा लागुगर्ने प्रतिबद्धता जनाएका थिए ।
मंगलसेनमा रहेको होटल हिलभिउमा संचालन भएको तालिम मंगलबार बाट सुरु भएको थियो । तालिममा आस्था नेपालको कार्य क्षेत्रका विद्यालयका प्रधानाध्यापक तथा गुनासो सुनुवाइ व्यवस्थापनका फोकल शिक्षकहरूको सहभागीता रहेको थियो । आस्था नेपालका सचिव कृष्ण प्रसाद देवकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रममा अछामका निमित्त प्रमुखजिल्ला अधिकारी दिपेन्द्र सिंह बिष्ट प्रमुख अतिथि रहनुभएउको थियो । कार्यक्रममा बोल्दै उहाले तालिममा सिकेका कुराहरु आ–आफ्नो विद्यालयमा पुगेर लागुगर्न सुझाव दिनुभएको थियो । अहिले समय निकै परिवर्तनशिल रहेकाले शिक्षकहरु अब्बल बन्न आवश्यक रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्टको सुझाव थियो ।
समापन कार्यक्रमा मेल्लेख गाउँपालिका शिक्षा शाखा प्रमुख विरेन्द्र खड्का, शिक्षकहरु पहल सिंह नेपाली, शर्मिला उखेडा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन आस्था नेपालका कार्यक्रम संयोजक हर्कबहादुर बलायरले गर्नुभएको आस्था नेपालका अनुगमन अधिकृत हर्कबहादुर खड्काले जानकारी दिनुभएको छ ।