अछाममा विद्यालयमा गुनासो सुनुवाइ सम्बन्धि तालिम संचालन


पैरवी खबर

अछाम जिल्लामा विद्यालयमा गुनासो सुनुवाइ सम्बन्धि ३ दिने तालिम संचालन भएको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र आस्था नेपालको प्राविधिक सहयोगमा तालिमको आयोजना गरिएको हो । विद्यालयमा गुनासो सुनुवाइ र यसको महत्त्वबारे सहभागीहरूको बुझाईमा एकरूपता ल्याउने, बालमैत्री र गोपनीय तरिकाले गुनासो प्राप्त गर्ने र सम्बोधन गर्ने सीपहरूका बारेमा जानकारी प्रदान गर्ने तथा विद्यालयका सरोकारवालाहरूबीच जवाफदेहीता पारदर्शिता र विश्वास प्रवर्द्धन गर्न फोकल शिक्षकहरूको क्षमता सुदृढ गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आस्था नेपालले जनाएको छ ।
मंगलसेनमा रहेको होटल हिलभिउमा संचालन भएको तालिमको मंगलबार बिहान एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । तालिममा आस्था नेपालको कार्य क्षेत्रका विद्यालयका प्रधानाध्यापक तथा गुनासो सुनुवाइ व्यवस्थापनका फोकल शिक्षकहरूको सहभागीता रहेको छ । आस्था नेपालका अध्यक्ष निर्मला रावलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख अम्बादत्त जोशी, अछाम प्रहरी प्रमुख ओमप्रकाश खनाल, पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापा, वर्ल्ड भिजनका जिल्ला संयोजक मीनबहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियोे । उद्घाटन कार्यक्रमको संचालन आस्था नेपालका कार्यक्रम संयोजक हर्कबहादुर बलायरले गर्नुभएको आस्था नेपालका अनुगमन अधिकृत हर्कबहादुर खड्काले जानकारी दिनुभएको छ ।