अछाम – अछामका युवा सामाजिक अभियन्ता मदन बुढाले अछाम जिल्लाको समग्र विकास र जनचेतनाका लागि खाली खुट्टा पैदल यात्रा गर्ने घोषणा गरेका छन्। विगत ५/६ वर्षदेखि सामाजिक कार्यमा सक्रिय बुढा हाल काठमाडौंमा Bachelor in Social Work अध्ययनरत छन्।
उहाँले यसअघि अछाम जिल्लामा सरसफाई अभियान, शैक्षिक सामग्री वितरण, खेलकुद सामग्री वितरण लगायतका विभिन्न सामाजिक अभियान सञ्चालन गरिसकेका छन्। साथै, पाँच वर्षअघि पनि अछाममै पैदल यात्रा गरिसकेको अनुभव उहाँसँग रहेको छ।
यसपटकको पैदल यात्रा कुनै चुनावी उद्देश्यका लागि नभई सामाजिक रूपान्तरण र जिल्लाको पहिचान बदल्ने लक्ष्यसहित हुने उहाँले बताउनुभयो। “म चुनाव उठ्न होइन, सुतिरहेको अछाम जिल्लालाई उठाउन खाली खुट्टा पैदल यात्रा गर्ने निर्णयमा पुगेको हुँ,” बुढाले भन्नुभयो।
यसअघि उहाँले विभिन्न माग राख्दै ५ दिनसम्म आमरण अनशनसमेत बस्नुभएको थियो। उहाँका मुख्य मागहरू यसप्रकार छन्:
१. अन्तरिम सरकारमा सुदूरपश्चिम र कर्णाली प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने।
२. ‘जेन जी’ आन्दोलनका क्रममा सहिद परिवारका सदस्य तथा घाइतेहरूलाई तत्काल अनिवार्य रोजगारीको व्यवस्था गर्नुपर्ने।
बुढाले अछामलाई नेपालकै सबैभन्दा गरीब जिल्ला बनाउने प्रवृत्तिविरुद्ध आफ्नो संघर्ष जारी रहने बताउनुभएको छ। “यति सुन्दर ठाउँलाई समस्याको जिल्ला बनाउने, अवसर र सम्भावनाको जिल्लालाई अभाव र समस्यामा धकेल्नेहरूका विरुद्ध आवाज उठाउनैपर्छ,” उहाँले जोड दिनुभयो।
उहाँले नेताहरू धनी हुँदै जाने तर जनता झन् गरीब बन्दै जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्दै अब युवाहरू मौन बस्न नहुने उल्लेख गर्नुभयो।


