जब सामाजिक सञ्जालले जगायो पुरानो माया
तिर्थ नेपाली
काठमाडौ
राजधानी काठमाडौं सपना, संघर्ष र सम्भावनाको संगमस्थल। यहाँको दैनिकी सधैंजसो भीडभाडले भरिएको हुन्छ। कोही नवसपनाका प्यासी, कोही जागिरे जीवनका व्यस्त यात्री, त कोही भाग्यले धकेलिएका पात्रहरू। यही विविध मनोविज्ञानको चौराहामा उभिएको शहर हो काठमाडौं।विशेषगरी चाडपर्वको मौसममा यो शहर झनै रंगीन, झनै जीवन्त देखिन्छ। काठमाडौं का गल्ली–गल्लीमा चहलपहल बढ्छ। पशुपतिनाथ मन्दिर मा लाग्ने शिवरात्रिको मेला होस् वा बसन्तपुर दरबार क्षेत्र मा मनाइने होली, यी केवल पर्व मात्र होइनन्—सामूहिक स्मृतिका अविच्छिन्न अध्याय हुन्।
हालै सम्पन्न महाशिवरात्रिको दिन राजधानीको मुहार फेरिएको थियो। विशेषगरी न्युरोड र रत्नपार्क क्षेत्र साँझपख जात्राभन्दा कम देखिँदैनथे। कार्यालय समय सकिएपछि घर फर्किनेहरूको हतार, किनमेल गर्नेहरूको चहलपहल र धार्मिक आस्थाको लहर यी सबैले सडकलाई मानौँ मानव समुद्रमा परिणत गरेका थिए।
यस्तो बेलामा सार्वजनिक सवारी साधनमा यात्रा गर्नु भनेको धैर्य र सहनशीलताको परीक्षा दिनु सरह हो।
त्यही भीडबीच म पनि माइक्रो बसमा उभिएर घर फर्किँदै थिएँ। करिब आधा घण्टाको यात्रा थियो। सिट पाउने सम्भावना लगभग भाग्य जस्तै हो । गाडीभित्र कोही मोबाइलमा व्यस्त, कोही झ्याल बाहिर टोलाइरहेका, कोही दिनभरको थकानले मौन रहेका थिए । म भने सिट नपाएर उभिएर। यात्रा गरिरहेको परिवेशमा थिए । तर अचानक पछाडिको सिटबाट आएको एउटा शब्दले ध्यान तान्यो ‘टिकटक’।
दुई विवाहित महिलाबीच गफ चलिरहेको रहेछ। एक महिलाले निसंकोच भनिरहेकी थिइन्, “पहिलेको प्रेमीसँग टिकटकमा कुरा हुन्थ्यो। एक दिन श्रीमानले थाहा पाउँछन् कि भन्ने डरले बन्द गरें। पछि उसले फेसबुक आईडी माग्यो, दिएँ। अहिले कहिलेकाहीँ मेसेन्जरमा कुरा हुन्छ। के गर्नु, माया त अझै लाग्छ।”
उनको आवाजमा कुनै अपराध बोध थिएन, बरु विगतप्रतिको अपनत्व झल्किन्थ्यो। उनले थपिन्, “उ अहिले पनि उस्तै छ, देख्नमा पनि राम्रो। जिन्दगीमा के के भयो, तर उसलाई बिर्सन सकिनँ।”
सँगै बसेकी साथीले समर्थन गर्दै भनिन्, “आफ्नो मन परेको मान्छेसँग बोल्नु त सामान्य कुरा हो नि। माया गरेको मान्छे त माया नै हो।”गाडीभित्रका केही यात्रुहरूले पनि चासोका साथ सुनेका थिए। संवाद क्रमशः गहिरिँदै गयो। ती महिलाले भनिन्, “मेरो पनि छोरी छ, उसको पनि छोराछोरी भइसक्यो। तर कहिलेकाहीँ कुरा गर्दा पुराना दिन सम्झिन्छु। मेरा श्रीमान त कस्ता रिसालु छन्।”आडैमा भएकी उनकी साथीको जवाफ थियो टिकटकमा अन्फेन्ड गरेर पनि त बोल्न सकिन्छ, मनपरेको मान्छेलाई त कहिलेकाँही त भेट्नु नि हो ।
उनीहरू हाँसिरहेका थिए। विगतका सम्झनामा रमाइरहेका थिए। तर मेरो मनमा भने प्रश्नहरूको लहर उठ्यो। के यो वर्तमान वैवाहिक जीवनप्रतिको असन्तुष्टि हो? वा केवल पुरानो सम्बन्धको भावनात्मक छाया? के डिजिटल माध्यमले विगतलाई यति सजिलै वर्तमानमा ल्याइदिएको छ कि सीमारेखा नै धमिलिएको छ?
सामाजिक सञ्जाल, फेसबुक टिकटक र मेसेन्जरले टाढिएका सम्बन्धहरू पुनःजोड्ने अवसर दिएका छन्। पहिले समय र दूरीले अलग पारेका मानिसहरू अहिले एक क्लिकमै भेटिन्छन्। यसले पुराना मित्रता पुनर्जीवित गरेको छ, तर केही अवस्थामा वैवाहिक सम्बन्धमा असहजता पनि निम्त्याएको छ।
विवाह केवल कानुनी वा सामाजिक सम्झौता मात्र होइन; यो विश्वास, निष्ठा र भावनात्मक प्रतिबद्धतामा टिकेको सम्बन्ध हो। तर जब दम्पतीबीच संवादको कमी हुन्छ, भावनात्मक दूरी बढ्छ, त्यही खालीपन सामाजिक सञ्जालले भरिदिन्छ। सुरुवात सामान्य कुराकानीबाट हुन्छ, तर त्यसले कहिलेकाहीँ गहिरो भावनात्मक निर्भरता जन्माउन सक्छ।
नेपाल जस्तो परम्परागत समाजमा विवाहलाई स्थायित्व र त्यागको प्रतीक मानिन्छ। तर बदलिँदो समयसँगै व्यक्तिगत स्वतन्त्रता र आत्मसन्तुष्टिको खोजी बढ्दो छ। “माया त अझै लाग्छ” भन्ने वाक्यले यही द्वन्द्व झल्काउँछ एकातिर पारिवारिक जिम्मेवारी, अर्कोतिर अधुरो भावनाको तानाबाना।
डिजिटल युगले अवसर दिएको छ,आफ्नो कुरा व्यक्त गर्ने, सम्बन्ध विस्तार गर्ने, विचार साझा गर्ने। तर यसले चुनौती पनि थपेको छ। विश्वास जोगाउने, सीमारेखा निर्धारण गर्ने र पारदर्शिता कायम राख्ने। सामाजिक सञ्जाल आफैं दोषी होइन; यसको प्रयोग कस्तो हुन्छ भन्ने कुराले सम्बन्धको दिशा तय गर्छ।
शिवरात्रिको त्यो भीडमा सुनेको संवाद केवल दुई महिलाको व्यक्तिगत कुरा थिएन। त्यो आजको समाजको सानो तर गहिरो चित्र थियो। हामी आधुनिकताको यात्रामा छौं, तर के हामी भावनात्मक जिम्मेवारी पनि उत्तिकै वहन गरिरहेका छौं?
घर पुग्दा लाग्यो सडकको भीड त छिट्टै छर्छ, तर मनभित्र उठेका प्रश्नहरू सजिलै मेटिँदैनन्। डिजिटल युगमा प्रेम, विश्वास र वैवाहिक सम्बन्धको अर्थ पुनःपरिभाषित हुँदैछ। अब प्रश्न केवल यति हो बहामी यो परिवर्तनलाई सचेत रूपमा सम्हाल्छौं, कि त्यसकै बहावमा बग्छौं?


