नेकपाका कार्यकर्ताद्वारा रास्वपाका कार्यकर्ता लाई दुर्व्यवहार भनिएको बारे “प्रेस वक्तव्य”


पैरवी खबर

प्रेस वक्तव्य
यही फागुन ७ गते रामारोशन गाउँपालिकाको वडा नं ५ चौकामा नेपाली कम्युनिस्ट पार्टीको भव्य चुनावी सभा भइरहेको बेला दक्षिण तर्फबाट सहभागीहरुको बिचमा एउटा बोलेरो गाडी हुइँकिँदै आयो ।
गाडीका झ्याल खोलिएका थिए र ठूलो स्वरमा माइक बजाइएको थियो । साथै एक जनाले गाडीबाट बाहिर टाउको र हात निकाल्दै घण्टी बजाएर आमसभा बिथोल्ने दुस्चेष्टा गर्यो । त्यो देख्दा साथै नेपाली कम्युनिस्ट पार्टीका सभामा सहभागी नेताबाट नजिकै रहेका प्रहरीलाई उक्त गाडीमा रहेका रास्वपाका मानिसहरुको हर्कत बन्द गराउनका साथै आमसभामा सहभागी जनतामा त्रास र उत्तेजना फैलाउने काम बन्द गराउन हाम्रो तर्फबाट आग्रह गरियो ।
यसरी जिल्ला प्रशासन कार्यालय अछामलाई लिखित रुपमा पूर्व जानकारी गराइएको चुनावी सभा बिथोल्न एक्कासी आएर उक्त प्रकारको हर्कत गर्ने रास्वपाका मानिसहरुले निर्वाचन कानुन र आचारसंहिताको उल्लंघन गरेका छन् । यस्तो कार्यको हामी निन्दा र विरोध गर्दछौं ।
उपयुक्त तथ्य माथि पर्दा हाल्न नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट दुर्यवहार गरिएको भन्ने रास्वपाका मानिसहरुले हल्ला चलाएका छन् । यस्तो हल्ला र भुक्को भ्रममा नपर्न हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं । साथै, हामीले सबैभन्दा पहिले जिल्ला प्रशासनलाई आफ्नो चुनावी भेटघाट र सभा बारे पूर्व जानकारी गराउँदा गराउँदै हामीले सभा गरिरहेको स्थानमा आई कार्यक्रम बिथोल्ने दुरुप्रयास गर्ने रास्वपाका मानिसहरुलाई निर्वाचन कानुन र आचारसंहिता बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौं । यस्ता उच्छृंखल क्रियाकलापबाट जनतामा त्रास एवं उत्तेजनाको स्थिति सिर्जना हुन गई अप्रिय घटना हुन सक्ने तर्फ प्रशासन एवं सम्बन्धित दलको ध्यानाकर्षण गराउँदछौं ।
संयोजक
शेर बहादुर कुँवर
निर्वाचन प्रचार प्रसार समिति
नेपाली कम्युनिस्ट पार्टी
क्षेत्र नम्बर १, अछाम
२०८२ फागुन ७ गते