रामारोशन गाउँपालिकामा ३१औँ जनयुद्ध दिवस सादगीपूर्ण रूपमा मनाइयो


पैरवी खबर

रामारोशन गाउँपालिकामा यस वर्ष ‘३१ औँ जनयुद्ध दिवस’ सादगीपूर्ण रूपमा मनाइएको छ।
सधैंझैँ बृहत् कार्यक्रम गर्दै आएको गाउँपालिकाले यस पटक भने शहिदहरूको फोटोमा माल्यार्पण तथा चियापान कार्यक्रम गरी दिवस मनाएको हो। पालिका स्तर र वडा स्तरमा छुट्टाछुट्टै रूपमा सामान्य कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले वीर शहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूको बलिदानको उच्च सम्मान गरेका थिए। साथै महान जनयुद्धको ऐतिहासिक महत्वबारे चर्चा गर्दै प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढीकरण गर्न सबैलाई आह्वान गरिएको थियो।
कार्यक्रमका क्रममा “वीर शहिदहरू अमर रहुन!”, “महान जनयुद्ध जिन्दाबाद!!” र “नेपाली कम्युनिष्ट पार्टी जिन्दाबाद!!!” जस्ता नारासहित कार्यक्रम सम्पन्न गरिएको थियो।