निर्वाचित भए दुई वर्षभित्र सेती लोकमार्ग सम्पन्न गर्छु : स्वाँर


पैरवी खबर

नेपाली कांग्रेस अछामका पूर्व सभापति तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भरत कुमार स्वाँरले आफू निर्वाचित भएमा दुई वर्षभित्र सेती लोकमार्गको निर्माण कार्य सम्पन्न गरिने दाबी गर्नुभएको छ।

चौरपाटी गाउँपालिका वडा नम्बर–६ दूनीमा आयोजित नेपाली कांग्रेसको चुनावी अभियानलाई सम्बोधन गर्दै उम्मेदवार स्वाँरले सेती लोकमार्गलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले सेती लोकमार्ग अछामको समग्र विकासका लागि मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै यसको समयमै सम्पन्नता अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

स्वाँरले आफू जनप्रतिनिधि नहुँदा पनि अछाम जिल्लाको विकास निर्माणका लागि निरन्तर पहल गर्दै आएको बताउनुभयो। अब जनताको प्रतिनिधिका रूपमा निर्वाचित हुने अवसर पाएपछि विकासका कामलाई अझ तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विगतमा जिल्ला विकास समिति (जिविस) सभापति रहँदा अछामको विकासका लागि थुप्रै पूर्वाधार तथा विकास निर्माणका काम सम्पन्न गरेको दाबी गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गोविन्द शाह, प्रदेश सदस्य भक्त ठकुल्ला, महासमिति सदस्य राजन कुँवर, निर्प साउँद, भगवती खानाल, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर, क्षेत्रीय सभापति कृष्ण बुढा, चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउँद, महाधिवेशन प्रतिनिधि माया कुँवर, कृष्ण कुँवर लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।