नाम : भरत कुमार स्वाँर
ठेगाना : साँफेबगर नगरपालिका–७, रिडिकोटका अछाम
जन्म :२०१२
बुवा : स्व. श्री चक्रबहादुर स्वाँर
आमा : जमुनादेवी स्वाँर
योग्यता : प्राथमिक शिक्षा बयालपाटास्थित महेन्द्र माध्यमिक विद्यालयबाट,उच्च शिक्षा हासिल डोटी क्याम्पस सिलगढी
राजनीतिक यात्रा:
वि.सं. २०३४ सालमा नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरी सदस्यता प्राप्त गर्नुभएका स्वाँर सोही वर्ष प्रदेश कार्य समितिको सदस्य बन्नुभयो। वि.सं. २०३६ सालमा साँफेबगरमा भएको पञ्चायत विरोधी आन्दोलन तथा अछामको सदरमुकाम बयालपाटाबाट मंगलसेन सार्ने निर्णयविरुद्ध भएको ऐतिहासिक आन्दोलनको नेतृत्व उहाँले नै गर्नुभयो।
तत्कालीन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईबाट क्रियाशील सदस्यता प्राप्त गर्नुभएका स्वाँर आन्दोलनकै क्रममा सरकारी गिरफ्तारीमा परेपछि उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनुभयो। तथापि, उहाँको राजनीतिक संघर्ष रोकिएन।
वि.सं. २०३६ सालको बहुदल आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा समेत अछाम जिल्लाको नेतृत्व गर्दै उहाँले निर्णायक भूमिका निर्वाह गर्नुभयो। पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्धको संघर्षमा वि.सं. २०३८ देखि २०४६ सालसम्म पटक–पटक जेल जीवन, यातना र कठिनाइ भोग्नुपरेको छ।
सामाजिक योगदान :
वि.सं. २०४३ सालमा अछामलाई मदिरा निषेधित जिल्ला घोषणा गराउन उहाँको योगदान अतुलनीय छ। आन्दोलनका क्रममा बाजुरा र अछामका विभिन्न कारागारमा उहाँले जेल जीवन बिताउनुभयो।
भरतकुमार स्वाँर एक प्रतिष्ठित, सरल जीवनशैली भएका र सामाजिक सेवामा सधैं समर्पित व्यक्तित्व हुनुहुन्छ। क्रान्तिकारी स्वभाव, परिवर्तनप्रति दृढ विश्वास र गरिब, दिनदुखीप्रतिको संवेदनशीलताका कारण उहाँ अछामको सामाजिक, आर्थिक, शैक्षिक तथा भौतिक विकासमा निरन्तर सक्रिय रहनुभयो।
विकास र नेतृत्व :
वि.सं. २०४९ सालमा जिल्ला विकास समिति अछामको सभापतिमा निर्वाचित भएपछि उहाँको नेतृत्वमा जिल्लाको समग्र विकासले गति लियो। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र पूर्वाधार विकासमा उहाँले उदाहरणीय कार्यहरू गर्नुभयो।
वि.सं. २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामको सभापति भई संगठन सुदृढ पार्नुभयो। पुनः वि.सं. २०७२ सालमा पनि जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नुभयो। वि.सं. २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नुभएका स्वाँर वाम गठबन्धनसँग अत्यन्तै न्यून मतान्तरले पराजित हुनुभयो।
जिल्ला विकास समिति सभापतिका रूपमा प्रमुख उपलब्धिहरू:
-जनता क्याम्पस, बयालपाटा अछामको स्थापना
-१४८ वटा प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक विद्यालयको स्थापना तथा स्तरोन्नति
-जिल्ला सडक गुरुयोजना निर्माण तथा सडक निर्माणको सुरुवात
-लोकसेवा आयोगबाट स्वीकृति लिई ६५० शिक्षक दरबन्दी सृजना गरी स्थायी नियुक्ति
-बुढीगंगा, कैलास खोला लगायतका सिंचाइ योजनाको निर्माण
५५ वटै गाविसमा स्वास्थ्य चौकी स्थापना
-कैलास खोला साना जलविद्युत आयोजना निर्माण
-महिला, दलित तथा पिछडिएका वर्गका लागि साक्षरता अभियान
-बाल अधिकार तथा छाउपडी कुप्रथाविरुद्ध अभियान
-७५ गाविसमा ७५ सहायक प्राविधिक दरबन्दी र ५८५ जनालाई अस्थायी रोजगारी
-महिला हिंसा तथा घरेलु हिंसाविरुद्ध सचेतना अभियान
-एचआईभी/एड्स विरुद्ध जनचेतना तथा पीडितको उपचारमा सहयोग
अतिरिक्त बयालपाटा अस्पताल, बुढीगंगा हाइड्रोपावर, सेती राजमार्ग, धार्मिक तथा पर्यटन विकास लगायतका बहुआयामिक क्षेत्रमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ।
(हाल : नेपाली काङ्ग्रेस क्षेत्र नम्बर- १ प्रतिनिधि सभा उम्मेदवार)
(श्रोत :अछाम खबर )


