अछाम- नेपाली कम्युनिस्ट पार्टी प्रतिनिधिसभा निर्वाचन परिचालन समिती अछाम क्षेत्र नम्बर-२को मंगलसेन नगरपालिकाको– वडा नम्बर१४ कालागाउँ बाट घरदैलो तथा भेटघाट कार्यक्रम सुरु भएको छ। कार्यक्रममा स्थानीय मतदाता तथा युवाहरूसँग खुल्ला कुराकानी भएको मंगलसेन नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक लोक बहादुर बोगटीले बताउनु भएको थियो। जनतासँग प्रत्यक्ष भेटहुँदा यहाँका वास्तविक समस्या र सम्भावनाहरू स्पष्ट रूपमा बाहिर आएका छन्। स्थानीय बासिन्दा मेहनती र श्रमशील रहेको उल्लेख गर्दै उनीहरू विशेषगरी कृषि उत्पादनमा सक्रिय रहेको पाइएको छ। अहिले गहुँ र तोरीको सिजन रहेकाले बालिहरू राम्रोसँग हुर्किरहेको देखिएको छ।
कृषि उत्पादनको सकारात्मक पक्षसँगै यहाँका दिर्घकालीन समस्या पनि यथावत् छन्। खानेपानीको अभाव अझै समाधान हुन नसकेको, घरभन्दा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता आज पनि रहेको गुनासो स्थानीयले राखेका छन्।त्यस्तै, सडक पुगेको भए पनि साँघुरो र अपुग अवस्था, गुणस्तरीय शिक्षाको कमी तथा स्वास्थ्य सेवामा सहज पहुँच नहुनु,कृषि पकेट क्षेत्र निर्माण नगरिनु यहाँका प्रमुख समस्या भएको जनाइएको छ।यसै सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बलबहादुर कुवरले घरदैलो अभियानमा आफू चुनाव जितेपछि खानेपानी, सडक विस्तार, शिक्षा र स्वास्थ्य सेवासहित कृषि क्षेत्रमा जनताका आधारभूत समस्याको स्थायी समाधान गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
उहाँले “असली राजनीति भाषण होइन, जनतासँगै रहेर समस्या समाधान गर्नु हो” भन्दै जनतासँग सहकार्य गरेर विकासको बाटो अघि बढाउने बताउनुभयो।कुवरको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम मंगलसेन नगरपालिकाको कालागाउँबाट सुरु भएको अभियान जुपु, बन्नातोली, वलिगाउँ हुँदै मंगलसेनसम्म पुग्दा अभियानमा स्थानीय मतदाताको उल्लेखनीय साथ, सहयोग र उत्साहजनक सहभागिता देखिएको छ।
घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूले तत्कालीन केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सम्मिलित सरकारकै कारण जेन्जी बिद्रोह भएको आरोप लगाएका छन्। सोही सरकारको गलत निर्णय, दमनकारी नीति र असफल शासनका कारण ७६ जना नेपाली युवाले ज्यान गुमाउनुपरेको तथा अर्बौँ रुपैयाँ बराबरको राज्यको संरचना तहस–नहस हुनुका साथै मध्यावधी निर्वाचन हुन पुगेको मतदाताहरूको भनाइ रहेको छ।
स्थानीयवासीहरूका अनुसार विगतमा एक/एक पटक–पटक अछाम निर्वाचन क्षेत्र नम्बर २बाट नेकपा एमालेबाट यज्ञ बोगटी र नेपाली कांग्रेस बाट पुष्प बहादुर शाह निर्वाचन जितेर संसदमा जाने अवसर पाउँदा पनि कांग्रेस र एमालेले जनताको पक्षमा काम गर्न नसकेको अनुभवले,यसपटक ती दलहरूलाई समर्थन नगर्ने निर्णयमा मतदाता पुगेका छन्। “अब पुरानै दल र अनुहारले देश नबन्ने स्पष्ट भइसकेको छ,” भन्ने धारणा घरदैलो अभियानभर सुनिएको छ।
यसपटक अवसरनै नपाएका, बिगतका दुई निर्वाचनमा उपबिजेता भएपनि जन्तासंगै हातेमालो गरिरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बल बहादुर कुवर लाई परिक्षण गर्न र नयाँ चुनाव चिन्ह ‘तारा’ रोज्ने जनताको चाहना प्रस्ट रूपमा व्यक्त भएको छ। विशेषगरी युवा, महिला र परिवर्तन चाहने मतदाताहरूले बल बहादुर कुवरप्रति विश्वास व्यक्त गर्दै राजनीतिक विकल्पको रूपमा नेपाली कम्युनिस्ट पार्टीलाई अघि बढाउने बताएका छन्।
घरदैलो अभियानलाई आगामी दिनमा मंगलसेन नगरपालिकाका अन्य वडाहरू तथा अछाम–२ का विभिन्न क्षेत्रमा घरदैलो अभियान गरिने उम्मेदवार कुवरको टोलीले जनाएको छ। जनताका समस्या संसदसम्म पुर्याउने र देशमा वास्तविक परिवर्तनको आधार तयार गर्ने प्रतिबद्धतासहित अभियान अघि बढाइएको बताइएको छ।


