नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलको चुनावी अभियानमा जेन्जी आन्दोलनका घाइते युवा सौरभ कडायत सहभागी भएका छन् ।
साँफेबगर नगरपालिका वडा नम्बर १२, खप्तड निवासी १९ वर्षीय कडायत भदौ २३ र २४ गते जेन्जी समूहले सञ्चालन गरेको आन्दोलनका क्रममा घाइते भएका थिए । भदौ २३ गते आन्दोलनकै क्रममा उनको टाउकोमा गोली लाग्दा उनी गम्भीर घाइते भएका थिए। उनको सिभिल अस्पताल, ट्रमा सेन्टर र वीर अस्पतालमा उपचार गरिएको थियो ।
उपचारका क्रममा डा. भीम बहादुर रावल स्वयं अस्पताल पुगेर कडायतको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा सहयोग गरेका थिए। डा. रावलले अघि सारेको राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको एजेन्डाबाट प्रभावित भएर आफू चुनावी अभियानमा खुलेर लागेको कडायतले बताएका छन् ।
जेन्जी आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य, दोषीमाथि कडाइका साथ कारबाही, सामाजिक सञ्जाल माथिको प्रतिवन्ध सुचारु गर्नुपर्ने ,सुशासन, पारदर्शिता र युवालाई न्याय भएको कडायतको भनाई रहेको छ ।
७३ वर्षको उमेरका सुशिला काक्रीलाई प्रधानमन्त्री बनाउनु जेन्जी समूहको माग होइन । जेन्जी आन्दोलन कुनै व्यक्ति वा पदका लागि नभई राज्यमा मौलाएको भ्रष्टाचार र अन्यायविरुद्धको आवाज भएको बताए ।
उहाँले राष्ट्रको सार्वभौमिकता, स्वतन्त्र निर्णय क्षमता र नेपाली जनताको स्वाभिमानमाथि आँच आउने कामविरुद्ध दृढताका साथ उभिन सक्ने नेतृत्वका रूपमा डा. रावललाई समर्थन गरेको बताए ।
यसैबीच, डा. भीम बहादुर रावलले जेन्जी आन्दोलनलाई युवाहरूको सचेत र न्यायपूर्ण आवाजको भएको बताउनुभयो । यो आन्दोलन देशमा बढ्दो भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध युवाहरूको चेतनशील प्रतिरोध हो । शान्तिपूर्ण आन्दोलनमा गोली होइन, संवाद र समाधान हुनुपथ्र्यो ।
डा. रावलले आफू निर्वाचित भएमा नवपुस्ताका जायज मागहरू संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
हाल काठमाडौंको ट्रिटन कलेजमा कक्षा ११ मा अध्ययनरत सौरभ कडायत स्वास्थ्य अवस्थामा सुधार आएपछि डा. रावलको घरदैलो कार्यक्रम, भेटघाट तथा जनसम्पर्क अभियानमा सक्रिय रूपमा सहभागी भइरहेका छन् ।
यसैबीच, डा. रावलको चुनावी अभियानमा युवाहरूको समर्थन बढ्दै गएको नेकपाले जनाएको छ।


