नेकपा माओवादी अछाम भन्छ रफाली जनताले राखेको मागप्रति पार्टीको ध्यानाकर्षण भयो


पैरवी खबर

नेकपा माओवादी अछामले जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. १ रहफका नागरिकहरुले राखेको मागप्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । रहफका नागरिकहरुले राखेका मागहरु जयज रहेको भन्दै पार्टीले पटक पटक सत्ताको नेतृत्व गरेका दल र जिल्ला बाट प्रतिनिधित्वगर्ने प्रतिनिधिहरुको कमजोरीकै कारण रफाली जनताका समस्या समाधान हुन नसकेको ठहर गर्दै विज्ञप्ती समेत जारी गरेको छ । पार्टीले विज्ञप्ती जारी गर्दै भनेको छ  रहफका स्थानीयवासीहरूले उठाएका मागहरू न्यायोचित, यथार्थपरक र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले, ती मागहरूप्रति हाम्रो पूर्ण समर्थन रहेको स्पष्ट पार्दै निम्न धारणा सार्वजनिक गर्दछौँ ।
१)निर्वाचनको पूर्वसन्ध्यामा रहफवासीहरूले राजनीतिक दल, स्थानीय सरकार तथा सम्बन्धित जिम्मेवार निकायलाई लक्षित गर्दै व्यक्त गरेका माग र अपेक्षाप्रति हाम्रो पूर्ण समर्थन तथा सक्रिय सहभागिताको प्रतिबद्धता व्यक्त गर्दछौँ।
२) अछामसँग सिधा जोडिने मोटरबाटो, कर्णाली राजमार्गसँग जोडिने पक्की पुल, तथा अछामसँगको साझा विद्युतीकरण सम्बन्धी मागहरू पूर्णतः सही, अत्यावश्यक र दीर्घकालीन विकासका आधार हुन्। यी मागहरूलाई अविलम्ब सम्बोधन गर्न सम्बन्धित सबै निकायसँग हार्दिक अनुरोध गर्दछौँ।
३) सडक, पुल र विद्युतीकरणजस्ता आधारभूत पूर्वाधारका विषयमा राज्य, सत्तासीन दल तथा जिम्मेवार नेताहरूको ध्यान नपुग्नु वा यस्ता जायज मागहरूलाई उपेक्षा गरिनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय हो।
४) आन्दोलित रहफवासीहरूले उठाएका मागहरूलाई यथाशीघ्र सम्बोधन गरी शान्तिपूर्ण, संवादमुखी र दिगो निकास खोज्न जिल्ला प्रशासन कार्यालय, अछामसहित सम्बन्धित सबै निकायलाई हार्दिक अनुरोध गर्दछौँ।
अन्त्यमा, रहफवासीहरूको विकासप्रतिको आवाजलाई बेवास्ता नगरी तत्काल निर्णय र कार्यान्वयनतर्फ अग्रसर हुन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौँ विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।