हात्तिकोटमा बाघको आक्रमणबाट मृत बाख्राको बिमा दाबी भुक्तानी


पैरवी खबर

अछाम । मेल्लेख गाउँपालिका–८, हात्तिकोटमा अवस्थित कमल एण्ड कपिल बाख्रा फर्ममा पालिएका १३ वटा बाख्रामध्ये बाघको आक्रमणका कारण ९ वटा बाख्राको दुर्भाग्यपूर्ण रूपमा मृत्यु भएको थियोे ।
फर्ममा रहेका सबै बाख्राहरू युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड साँफेबगर मार्फत समयमै बिमा गरिएको हुँदा घटनापछि आवश्यक कागजात संकलन गरी बिमा दाबी प्रक्रिया अघि बढाइएको थियो।
दाबी मूल्यांकन सम्पन्न पश्चात् बिमा सम्झौताअनुसार क्षतिपूर्ति रकम स्वीकृत गरिएको हो।
स्वीकृत बिमा दाबीबापत रु १,११,००० (एक लाख एघार हजार रुपैयाँ) बराबरको चेक युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, शाखा कार्यालयका पशु प्राविधिक होमराज जोशीद्वारा सम्बन्धित कमल एण्ड कपिल बाख्रा फर्मका प्रोप्राइटरलाई हस्तान्तरण गरिएको छ।

यस अवसरमा शाखा प्रमुख प्रेमराज रेग्मी र पशु प्राविधिक होमराज जोशीले पशुपालकहरूलाई सम्भावित जोखिमबाट सुरक्षित रहन गाई, भैंसी, गोरु, बाख्रा लगायतका पशुहरूको समयमै बिमा गराउन आग्रह गरेका छन्।
उनीहरूले पशु बिमाले प्राकृतिक प्रकोप तथा वन्यजन्तुको आक्रमणबाट हुने क्षतिलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।