चन्द्र प्रसाद भाट
अछाम । राष्ट्रिय परिचयपत्र बनाउन कमलबजार पुगेका एक जेष्ठ नागरिकको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा न. ३ लकान्द्राका ७३ वर्षिय मनहरे कामिको मृत्यु भएको अछाम प्रहरी प्रमुख (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र बनाउन तुर्माखाँद बाट कमलबजार आएका कामिको कमलबजार नगरपालिकाको भवन अगाडि ढलेर मृत्यु भएको हो ।
अछाम प्रहरीका अनुसार निज कामी नगरपालिका परिसरमा हिनिरहेका थिए । एक्कासि लडेपछी स्थानीयहरुले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगे लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक कामी केही दीर्घरोगी हुन वा अचानक स्वास्थ्यमा समस्या आएर लडेका हुन भनेर आवश्यक जाँचबुझ गर्न प्रहरी खटाइएको डिएसपी खनालले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उनी परिचयपत्र बनाउन कमलबजार आएका थिए ।


