बालबालिकाको स्वास्थ्य परिक्षण
एकेन्द्र महता
साँफेबगर ।
साँफेबगर र मेल्लेख गाउँपालिकाका बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गरेका मध्ये १५ जनामा गम्भीर समस्या देखिएको छ । दुई पालिका गरेर ७ हजार ६ सय २३ जना बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपालको साझेदारीमा सञ्चालित आईएनआरएल परियोजना अन्तरगत विद्यालय स्तरमा स्वास्थ्य फोकल शिक्षकहरुको सहयोग मार्फत प्रारम्भिक स्वास्थ्य (दाँत, मुख, गिजा, कान, आँखा र बिएमआई) जाँच गरिएको हो । परियोजनाले गत वर्षको फागुन महिनामा मेल्लेख गाउँपालिकाका सबै वडाहरु र साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँ गरी जम्मा ९ वटा वडाका सबै विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।
बालबालिकाको स्वास्थ्य परिक्षण गर्दा १५ जना बालबालिकाको निःशुल्क उपचार गरिएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहका २ जना, वडा नम्बर ३ ठाँटीका ५ जनाको आँखामा समस्या, वडा नम्बर ४ कुष्कोटका ६ जना, वडा नम्बर ५ विन्देबासिनीका २ जनाको दाँतमा समस्या देखिएको थियो ।
गेटा आँखा अस्पताल साँफेबगर शाखा र रामारोशन डेन्टल क्लिनिक साँफेबगरमा शिविर सञ्चालन गरिएको पछि उनीहरुको निःशुल्क उपचार गरिएको हो । आईएनआरएल परियोजनाले बालबालिका र उनीहरुका अभिभावकहरुका लागि खाना, आवास, यातायात र स्वास्थ्य उपचार खर्च समेत उपलब्ध गराएको छ ।
स्वास्थ्यमा समस्या देखिएका मध्य ४ जनाको दाँतको उपचार, ४ जनाको दाँतको आरसिटी, दुई जनाको आँखाको सामान्य उपचार, ४ जना आँखा कमजोर भएकालाई लेन्स सहितको चस्मा र दुई जनाको आँखाको जटिल अप्रेसन गर्न पर्ने र हाललाई सुरक्षाका लागि चस्मा उपलब्ध गराईएको छ ।
आफूले निःशुल्क उपचार पाएपछि मेल्लेख गाउँपालिकाका खेमराज साउँदले खुसि व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो–दिनदिनै खाना खाँदा र राती सुत्ने बेला दाँत झम्झमाई रहने समस्याबाट मुक्त भएको छु । विद्यालयमा जाँदा र पढ्दा पनि निरन्तर दुख्ने समस्या थियो, अहिले त्यो समस्याबाट मुक्त भएको छु ।
यस्तै सानै उमेर देखि नै आफ्नो आँखामा समस्या हुँदै आएको उर्मिला विकले बताउनु भयो । उर्मिलाले भन्नुभयो–आँखा कमजोर भई नियमित विद्यालय जान र अन्य दैनिक कामकाज गर्न समस्या भई रहेको थियो अब चस्मा पाए पछि प्रष्ट देख्न सक्ने भएकी छु ।
स्वास्थ्य-चेकजाँचका-लागि-लाईनमा-बसेका-बालबालिकाहरु-
बालबालिकाहरुको स्वास्थ्य स्थिति सुधार गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउन बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरेर उपचारमा सहयोग गरिएको परियोजनाका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले बताउनु भयो । उहाँले आफुहरुले यो कार्यक्रम रहँदा सम्म बालबालिकाको यसरी नै स्वास्थ्य, शिक्षा पोषण र जीविकोपार्जनमा सहयोग गर्ने बताउनु भयो । भण्डारीले भन्नुभयो–हामी आर्थिक स्थित कमजोर भएका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरेर उपचारमा उहयोग गर्दै जानेछौँ ।


