अछाम – कालिका भगवती माइलाई विशेष रूपमा हिन्दु धर्मावलम्बीहरूको लागि अत्यन्तै पूजनीय मानिन्छ।
नेपालका विभिन्न स्थानमा कालिका भगवतीका मन्दिरहरू छन्, तर प्रख्यात मन्दिरहरूमध्ये विशेष रूपमा अछाम जिल्लाको साँफेबगर नगरपालिका देविस्थानमा रहेको कालालेकीमा अवस्थित कालिका माइको मन्दिर पनि एक हो ।
देविस्थानमा कालालेकी कालिका माइको स्थापना : अहिलेका पुजारी बद्री प्रसाद भण्डारीका अनुसार : परापूर्व कालमा ४/५ बर्ष सय अगाडी त्यस ठाउँमा स्थानीयहरु गाइ , गोरु बाख्रा चराउनका लागि जाने गर्दथे , गाइबस्तु चरनका लागि त्यो ठाउँ अति उपयुक्त भएका कारण मानिसहरु त्यतै गोठ , खरक हालेर बसेका थिए । आफुलाई र गाइबस्तुलाई जंगली जनावर र भुतप्रेत नलागोस भन्ने हेतुले आस्थाको रुपमा ढुङ्गाको मुर्ति स्थापना गरि फूलपाती चढाउन सुरु गरे । किवदन्ती अनुसार देविस्थान धामीलेकका एक जना पू्र्खालाई कालिका देवी राती सपनामा आएर भने :”कति ढुङ्गाको मुर्ति बनाएर मात्र पुजा गर्छौ , अब मेरो मुर्ति स्थापना गर “त्यसपछि स्थानीयबासी सबै मिलेर कालिका माइको स्थापना गरे। त्यतिबेला बाइसै चौबीसै राज्य थियो, कालिका माइ मन्दिरको संरक्षण र पुजाआजाको लागि घुघुरकोटे राजाहरु कालालेकी जान्थे । त्यो बेला काठमाडौलाई नेपाल भन्ने प्रचलन थियो , तिलानाथ भण्डारी पुजारी काठमाडौ गएर त्यहाँको एक पुजारीलाई भेटेर भने ” हाम्रो ठाउँमा पनि कालिकाको मन्दिर छ हामीले नै स्थापना गर्यौ अब यो कालालेकी कालिका माइ मन्दिरको विकासका लागि केही पहल गरिदिनुपर्यो ”
त्यसपछि उहाँकै पहलमा कालालेकी मन्दिर गुठिमा दर्ता भइ क्रमशः यस मन्दिरको प्रचारप्रसार र विकास हुँदै गयो ।
यस कालिका मन्दिरमा हरेक बर्ष श्रावण शुक्ल चतुर्दशीका दिन मेला लाग्ने गर्दछ। त्यो दिन अछामका विभिन्न पालिका र छिमेकी जिल्लाहरुबाट पुजा आज र भाकल गर्नाका लागि दर्शनाभिलासीहरुको भिड हुने गर्दछ । विशेष रुपमा यो कालिका माइको मन्दिरमा ६ वटा पर्वहरु मनाउने गरिन्छ : चैते अष्टमी , मालिका चतुर्दर्शी ,पन्चमी , विजया दशै आदि ।
देवी कालिका को परिचय:
कालिका देवी दुर्गाको एक उग्र रूप हो। उनलाई शक्ति, पराक्रम र विनाशकारी शक्ति को प्रतीक मानिन्छ।
उनले पापकर्मी र दानवहरूलाई नष्ट गर्ने देवीको रूपमा पूजा गरिन्छ,कालिका देवीको मूर्ति प्रायः कालो रंगको हुन्छ, हातमा खड्ग (तरवार), त्रिशूल, र नरमुन्ड (मानव टाउको) को माला देखिन्छ,उनी समय (काल) को स्वामिनी हुन्, त्यसैले “कालिका” भनिएको हो।
कालिका भगवतीको पूजा विधि:
नित्य पूजा, आरती, विशेष पर्वहरूमा बलि दिने चलन पनि छ,भक्तजनहरूले कामना, स्वास्थ्य, सुरक्षा, र बाधा निवारणका लागि पूजन गर्दछन्।
मान्यता र विश्वास:
देवी कालिकाको दर्शनले भय, संकट, रोग, र शत्रुहरूको नाश हुन्छ भन्ने विश्वास छ,भक्तजनहरूको मनोकांक्षा पूरा गर्ने शक्तिशाली देवीका रूपमा पूजिन्छिन्।
कालिका माइको संरक्षण र प्रबर्द्धन गर्नु भनेको त्यस स्थानको सांस्कृतिक, धार्मिक, प्राकृतिक र पर्यावरणीय सम्पदालाई जोगाउने र समृद्ध बनाउनु हो।
वडा सरकारले यस कालालेकी माइ मन्दिरको संरक्षण र प्रबर्द्धनका लागि स्थानीय सरकारसँग सहकार्य गरी बजेट सुनिश्चित गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारले पनि पर्यावरण, संस्कृति तथा पर्यटन मन्त्रालयसँग परियोजनागत सहकार्य गर्न र गैरसरकारी संस्था सामुदायिक समूह, निजी क्षेत्रबाट लगानी/सहयोग जुटाउनका लागि पहल कदम गरि यस ठाउँको विकासका लागि लाग्नु पर्दछ ।


