एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्रि


पैरवी खबर

साँफेबगर ।

अछाममा पाँच करोड भन्दा बढीको विद्युत विक्री भएको छ । नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रले एक वर्षमा पाँच करोड ९३ लाखको विद्युत बिक्री गरेको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका १९ हजार ८ सय ७३ ग्राहकलाई उक्त रुपियाँ बराबरको विद्युत बिक्री गरिएको हो । गत आवमा मासिक ४८ लाखका दरले विद्युत बिक्री भएको उहाँले जानकारी दिनुभयो । अछाम वितरण केन्द्रका अनुसार ६४ लाख २२ हजार यूनिट विद्युत विक्री गरिएको थियो ।

उक्र रकम मध्ये करिब ७७ प्रतिशत नगरद र ३३ प्रतिशत रकम अनलाइन (इ–सेवा, मोवाइल बैंकिङ मार्फत प्राप्त भएको जनाईएको छ । गत आवमा अछामका एक हजार ८ सय ९२ जना विद्युतका नयाँ ग्राहकहरु थपिएका छन् । विद्युत चुहावट घटाउन विद्युत् चोरी गर्ने दुई जनालाई कारबाही गरेको अछाम वितरण केन्द्रका प्रमुख हिक्मत बहादुर विसीले बताउनु भयो ।

अघिल्लो आवमा २० दशमलव ०६ युनिट विद्युत चुहावट भएकोमा गत आवमा १६ दशमलव ७७ युनिट विद्युत चुहावट भएको विसीले बताउनु भयो । केन्द्रले गत आवमा ११ केवि प्रशारण लाईन तर्फ १२ दशमलव ७४ किलोमिटर लाईन र २८ दशमलव ७१ किलोमिटर नयाँ लाइन निर्माण गरेको विसीले बताउनु भयो ।

उहाँका अनुसार १५ देखि २ सय केविसम्म क्षमता भएका २० थान नयाँ ट्रान्सफर्मर जडान गरिएका छन् । केन्द्रमा हालसम्म १ करोड ५० लाख ५८ हजार दुई सय ३० रुपियाँ बक्यौदा बाँकी रहेको छ । विद्युत पुग्न बाँकी रहेका ठाउँमा पूर्ण विद्युतिकरण आयोजना मार्फत विद्युत लाईन विस्तारको काम भई रहेको विसीले बताउनु भयो ।

सो योजना मुताविक वितरण लाईन तर्फ पाँच सय किलोमिटर र प्रशारण लाईन तर्फ एक सय किलोमिटर नयाँ लाईन विस्तारको काम भई रहेको जनाईएको छ । विसीका अनुसार यो आव भित्र अछाम जिल्लालाई पूर्ण विद्युतिकरण गर्ने लक्ष्य रहेको छ ।