रमेश परियार, अछाम ।
अछाममा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको संख्या गत आ.व.को भन्दा घटेको पाईएको छ।
जिल्ला अस्पताल अछामको आ .व. २०७९/०८० को तथ्यांक अनुसार जिल्लामा सुरक्षित गर्भपतन गर्नेको संस्ख्या घटेको पाईएको हो। आर्थिक वर्ष २०८९/८० चैत मसान्तसम्म २० वर्ष मुनिका र २० वर्ष भन्दा माथिका सुरक्षित गर्भपतन सेवा लिनेको संख्या ७०९ पुगेको छ। जिल्ला अस्पताल अछामको सुरक्षित गर्भपतन सेवासंग सम्बन्धित आर्थिक वर्ष २०७९/ ०८० को चैत मसान्तसम्मको तथ्यांक अनुसार २० वर्ष मुनिका महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
अस्पतालको तथ्यांक अनसार श्रावण महिनामा ८ जना, भदौमा २ जना, असोजमा ३ जना, कार्तिक २ जना, पुषमा ४ जना, माघमा २ जना, फागुनमा १ जना, चैतमा २ जना गरि जम्मा २४ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। सुरक्षित गर्भपतन सेवा लिनेमा २० वर्ष माथिकाहरु रहेका छन्। श्रावण महिनामा ९७ जना, भदौमा ७३ जना, असोजमा ५७ जना, कार्तिकमा ५२ जना, मंसिरमा ८७ जना, पुषमा ९२ जना, माघमा ६७ जना, फागुनमा ७२ जना, चैत्रमा ८८ गरि जम्मा ६ सय ८५ जना सेवाग्राही रहेका छन्।
घरमै गर्भपतनको प्रयासमा असफल भए पछि असुरक्षित गर्भपतन पश्चात १ सय ५४ जनाले जिल्ला अस्पताल अछाममा आएर सेवा लिएका छन्। जस्मा श्रावणमा महिनामा १३ जना, भदौमा २७ जना, असोजमा १५ जना, कार्तिकमा ६, मंसिर १८, पुष २२, माघ १८, फागुन २१, चैत १४ गरि जम्मा १ सय ५४ जना रहेका छन्। सुरक्षित गर्भपतन पश्चात परिवार नियोजन सेवा लिई लामो अवधिका साधन प्रयोग गर्नेहरुको संख्या जम्मा १ सय १७ रहेको छ भने छोटो अवधिका साधन प्रयोग गर्नेको संख्या जम्मा ४ सय ४३ रहेको जिल्ला अस्पताल अछामले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा सुरक्षित गर्भपतन सेवा लिनेहरुमा २० वर्ष माथिका १ सय ५१ जना र २० वर्ष मुनिका ८ जना गरि जम्मा १ सय ५९ जनाले सेवा लिएका थिए।
जिल्ला अस्पताल अछाममा सुरक्षित गर्भपतन सेवा लिनको लागि शिक्षित र अशिक्षित महिलाहरु बराबर जसो आउने गरेको र धेरै जस्तो महिला दिदिबहिनीहरु सन्तान बढी भएर, अनिश्चित गर्भ बसेर, घरमा छोरीको संख्या बढी भएको तर आफुलाई छोराको आवश्यक भएको भनेर, अस्पतालमा आउने गरेको अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगर बताउँछिन्। धेरै जसो दिदीबहिनीहरु सुरक्षित गर्भपतन सेवाको लागि अस्पताल आउन अफ्ठ्यारो मान्छन् सम्भव भए सम्म घरमै जडिबुटी र घरेलु विधिहरु अपनाउँछन् तर प्रायः त्यो प्रयास असफल पछि निजि अस्पताल धाउँछन्।
नियममा निजि मेडिकलहरुले गर्भपतन गराउने औषधि बेच्न मिल्दैन तर पैँसा कमाउने उद्धेश्यले अनुमानको आधारमा औषधि बेच्छन्, त्यो बेला सम्म विरामीको अवस्था निकै कमजोर भई सकेको हुन्छ अन्तिममा जिल्ला अस्पताल आई पुग्छन्। असुरक्षित गर्भपतन पश्चात् संस्थामा आएर सेवा लिएका १ सय ५४ जना मध्ये १२–१५ वटा निकै जटिल केसहरु आफुले हेरेको र उनीहरुलाई नयाँ जीवन दिएर घर पठाएको वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मगर बताउँछिन्।
गर्भपतनका कारण हुने मृत्यु दरका विरुद्ध भएका पहलहरुलाई सम्बोधन गर्दै नेपालमा सन २००२ मा गर्भपतनले कानुनी मान्यता पाएको र यसको कानुनी कार्यान्वयन भने सन २००३ मा भएको हो। गर्भपतन सेवालाई २०१६ देखि निःशुल्क दिने व्यवस्था गरेता पनि धेरै जस्तो विकटका गाउँ बस्ती र कुना कन्धराका महिलाहरुले पर्याप्त मात्रामा यो सेवा लिन सकि रहेका छैनन् र गर्भपतन सेवा सम्बन्धि शिक्षाको कमि र यातायातको पहुँच नहुँदा पनि सेवाबाट बञ्चित हुनु परेको देखिन्छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन (२०७५ ) बमोजिम सुरक्षित गर्भपतन गर्न पाउने गर्भवती महिलालाई अधिकार दिइएको छ ।
१२ हप्ता सम्मको गर्भ विना प्रमाण गर्भवती महिलाको मन्जुरीले गर्भपतन गर्न मिल्ने , गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्ने वा शारीरिक तथा मानसिक असर आएमा, अनिच्छित गर्भ जन्मन सक्छ भनी इजाजत प्राप्त चिकित्सकको सल्लाह अनुसार महिलाको मन्जुरी बमोजिम २८ हप्ताको गर्भलाई पतन गर्न मिल्ने हुन्छ । जबर्जस्ति करणी वा हाडनाता बाट रहन गएको गर्भ र निको नहुने जुनसुकै रोग लागेको भए महिलाको मन्जुरीले २८ हप्ता सम्मको गर्भलाई पनि पतन गर्न सकिन्छ । बच्चा जन्मेर पनि बाच्न नसक्ने गरि गर्भको भ्रुणमा खराबी रहेको भए वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्थामा स्वास्थ्यकर्मीको राय अनुसार गर्भवती महिलाको मन्जुरीमा २८ हप्ताको गर्भलागि गर्भपतन गर्न मिल्ने व्यवस्था रहेको छ ।
सुरक्षित गर्भपतन सेवा लिँदा ज्यान जोखिममा हुन नदिनकालागि सुचिकृत स्वास्थ्य संस्था र सेवा प्रदायक बाट सेवा लिनु पर्दछ । असुरक्षित गर्भपतनले महिलाहरुको ज्यानै जाने, रोगी हुने र आत्म हत्याको सम्भावना वा प्रयास हुनुका साथै महिलाको शिक्षा रोजगारी, सामाजिक अवसरबाट बञ्चित हुने हुँदा महिलाहरु यस्ता समस्याबाट बच्नका लागि विभिन्न सरोकारवाला निकाय र स्वास्थ्य संस्थाहरुले समाजमा सुरक्षित गर्भपतन सेवा सम्बन्धि शिक्षा दिने, जनचेतना फैलाउने जस्ता क्रियाकलापहरु गर्न आवश्यक देखिन्छ।


