देशभरका सामुदायिक विद्यालयहरुमा आईतबार देखि अनिश्चितकालिन बन्दको घोषणा


पैरवी खबर

काठमाण्डौं
विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरुको माग सम्बोधनका लागि दवाव दिने उद्देश्यका साथ अनिश्चितकालिन सामुदायिक बिद्यालय बन्दसहितको आन्दोलनको घोषणा गरिएको परिषदका महासचिब शान्तिनाथ योगीले बताउनु भयो ।
नेपाल सरकारको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर बजेटमा उक्त विषय छुटाइएकोले आन्दोलनमा जानु परेको परिषदले जनाएको छ ।
गत जेठ १७ को पत्रकार सम्मेलनबाट घोषित आन्दोलनका कार्यक्रमहरुमध्ये पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भिर नभएको र बरु प्रहरी दमन भएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको योगीले जानकारी दिनु भयो ।
परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको छ ।
परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आएको छ ।