रावल चौखुट्टे पुग्दा बोहरा साँफेबाट मंगलसेन टाप


पैरवी खबर

रमेश रावत

अछाम । नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डाक्टर भीम रावल गृह जिल्ला अछाम पुगेका छन् । 

उनलाई सोमबार साँझ साँफेबगरमा एमालेका नेताहरूले स्वागत गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रमहरूमा प्रमुख अतिथि हुन अछाम पुगेको भनिएका रावलको जिल्ला भ्रमणलाई अर्थपूर्ण  रूपमा हेरिएको छ । 

रावलले जिल्लामा आफू निकट नेता कार्यकर्ताहरु सङ्ग आगामी राजनीतिबारे छलफल गर्न सक्ने अटकल गरिएको छ । 

नेता रावलको गृह जिल्ला प्रवेशले एमाले वृत्तमा हलचल ल्याएको छ । रावल पक्षधरले जिल्ला भ्रमणलाई खुसीका साथ समर्थन गरेका छन् भने एमाले अध्यक्ष के पी ओली पक्षका नेताहरू रावलको नजिक पर्ने डरले भाग्न थालेका छन् । उनीहरू रावललाई भेट्न डराएर टाढिन खोजिरहेका छन् । 

एमाले अध्यक्ष ओलीको तारो बनेका रावललाई भेट्दा ओली सङ्ग दुरी बढ्ने एमालेका जिल्ला तहका  नेतालाई डर छ । उनीहरू केन्द्रमा आफ्नो नम्बर घट्ने डरले भाग्न थालेका हुन । 

सोमबार रावलको  अछाम पुग्ने समय सम्म साँफेबगरमा रहेका एमाले जिल्ला अध्यक्ष चन्द्र बोहरा रावल नपुग्दै साँफेबगरबाट मङ्गलसेन हानिएका छन् । सोमबार दिनभर साँफेबगरमा रहेका बोहरा नेता रावल चौखुट्टे पुगेको खबर सुन्ना साथ मङ्गलसेन हिनेका हुन । उनी सङ्गै एमाले नेता तथा मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरापनी दिनभर साँफेबगर बसेर रावल नपुग्दै मङ्गलसेन हानिएका थिए  । 

पार्टी अध्यक्ष बोहरा ओली निकट हुन । नेकपा विभाजनका समयमा पहिले रावलको पक्षमा रहेका बोहरा अन्ततः ओली पक्षबाट एमाले पार्टीको जिल्ला अध्यक्ष बनेका थिए । 

नेता रावल एमाले पार्टीको शक्तिशाली उपाध्यक्ष हुँदा उनको जिल्ला भ्रमणमा स्वागत गर्न चौखुट्टे पुग्ने नेताहरू यसपालि भने रावल चौखुट्टे पुग्दा साफबेगरबाटै भागेका छन् । 

यस विषयमा अध्यक्ष बोहराले रावल अछाम आउने कार्यक्रमबारे पार्टीमा जानकारी नभएको बताए । रावलको जिल्ला भ्रमणमा एमाले पार्टीले कुनैपनी कार्यक्रम आयोजना नगर्ने उनको भनाई छ । 

सोमबार साँझ साँफेबगर पुगेका नेता रावलले उपलब्ध कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गरेका छन् । उनले राष्ट्रिय हितका निम्ति आफ्नो लडाई जारी रहेको बताए ।

नेता  रावलले भोली मङ्गलवार बिहान गैर सरकारी संस्था वाक नेपालको २७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्ने कार्य तालिका रहेको छ । 

त्यस्तै उनी मङ्गलवार दिउसो मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडालाई स्थानीय बाल मैत्री स्थानीय शासन घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् । नेकपा एमालेको चितवन महाधिवेशनमा के.पी.शर्मा ओलीसँग अध्यक्ष पदका प्रत्याशी रावल हाल पार्टीमा भूमिका विहीन छन् । 

पार्टीमा रावललाई उचित स्थान दिनुपर्ने माग उठ्दै आए पनि पार्टी नेतृत्वले बेवास्ता गर्दै आएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रम र रावलको आगामी तयारीका विषयमा धारण बुझ्न प्रेस चौतारी नेपाल अछामले मङ्गलवार बिहान साँफेबगरमा पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरिएको प्रेस चौतारी नेपाल अछामका अध्यक्ष टेक बहादुर  थापाले बताएका छन् ।