२१ जेठ, साँफेबगर : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस साँफेबगर नगरपालिकामा मनाइएको छ। साँफेबगर नगरपालिकाको आर्थिक सहयोग र दलित नगर संजाल साँफेबगरको आयोजनामा दिवस मनाइएको हो ।
दलित नगर संजालका अध्यक्ष गणेश तिरुवाको अध्यक्षतामा भएको दिवस कार्यक्रममा साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो, उहाँले प्रमुख अतिथिको आसनबाट बोल्दै : आफ्नो कार्यकालमा यो नगरलाई जातीय छुवाछूत मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्को लागि आफूले अभ्यास गरिरहेको उहाँले बताउनु भयो । पछाडी परेको वर्गलाई आफुले पहिलो प्राथमिकतामा राखेको पनि बताउनु भयो ।
दिवस कार्यक्रममा साँफेबगर नगर उप प्रमुख शिव बहादुर कुँवर , अर्जुन ताम्राकार लगाएत अन्य दलित अगुवाहरुको सहभागिता रहेको थियो ।
२०६८ देखि यो दिवस मनाउन थालिएको हो ।
सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन् । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् ।
जातीय छुवाछूत कानूनत: दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।