सुरज सुनार,
अछाम जेठ २० – “दलितका लागि दलित अभियान” का संयोजक खगेन्द्र सुनारसँग एक अनौपचारिक भेटघाट कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। कार्यक्रममा विविध पृष्ठभूमिका युवा, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
भेटघाटको क्रममा संयोजक सुनारले दलित समुदायको वर्तमान अवस्था, राजनीतिक सहभागिता, सामाजिक न्याय, तथा सशक्तिकरणका मुद्दामा गहन विचार विमर्श गरेका थिए। उनले दलित समुदायभित्र नेतृत्व विकास, शिक्षा र आर्थिक आत्मनिर्भरताका लागि अभियान अझ सक्रिय ढंगमा सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा सहभागीहरूले समेत आफ्ना धारणा राख्दै, दलित समुदायले भोगिरहेको बहुपक्षीय विभेदको अन्त्यका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। संयोजक सुनारले सबैलाई अभियानमा जोडिन आह्वान गर्दै, अभियान कुनै दल विशेषको विरोध होइन, बरु समान अधिकार र सम्मानको आन्दोलन भएको प्रस्ट पारे।
यस किसिमको संवाद कार्यक्रमले दलित समुदायबीच एकता, आत्मबल र सामूहिक उद्देश्यप्रति विश्वास बढाउने अपेक्षा गरिएको छ । जेठ २१ गते कोल्टी बाजुरामा र २३ गते अछामको कमलबजारमा जातीय भेदभाव छुवाछुत विरुद्ध दिवश बृहत-जागरण सभामा सुनारले सम्बोधन गर्ने भएका छन ।