धनगढी: नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते आइतबार बैतडीको दशरथचन्द नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको गरिएको थियो। कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएसपी), दलित अधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको सहभागीता थियो।
अन्तरक्रिया चलिरहेका बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’
दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन्, सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए। तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दको छोयो। उनले कुर्सीबाट उठेर आक्रोश पोखिन्। उनले भनिन्, ‘म ठकुरीकी छोरी हुँ, मैले बाहिर पानीसमेत पिउन्नँ। मेरो इच्छा हो अरुले छोएको खाऊ या नखाऊ।’
देश छुवाछुतमुक्त भएको दिनको सम्झनामा खुसीयाली मनाइरहेका बेला जनप्रतिनिधिबाट अर्काे जातीय विभेद भएको महसुस गरेका त्यहाँ सहभागी दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र उपमेयरको पक्षबीच भनाभन भयो।
पछि सोही विषयलाई लिएर प्रेम दयाललगायत दलित अधिकारकर्मीको टोली मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो। त्यहाँ छलफल भएपछि प्रजिअ सुरेश पन्थीलाई आज (बुधबार) उपमेयरलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाउने तयारी थियो। तर त्यो सम्भव नभएपछि भोलि बिहान प्रजिअलाई ज्ञापनपत्र बुझाउने दलित अधिकारकर्मीहरुको तयारी रहेको छ।
यता सिडिओ पन्थीले दुबै पक्षलाई राखेर छलफल गरिने बताए।