मंगलसेन नगरपालिकाले दियो बजार अनुगमनमा तिव्रता


पैरवी खबर

अछाम : मङ्गलसेन नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । अहिले पनि बजार क्षेत्रमा म्याद सकिएका खाद्यान्न बिक्री वितरण भइरहेको, नगरपालिकाले पटकपटक अनुरोध गर्दापनि अटेर गरेर बजार क्षेत्र भित्र तरकारी, मासुजन्य पदार्थ बेचबिखन गरिरहेको र बजार क्षेत्रको फोहोर व्यवस्थापन भएन भन्ने गुनासो बढेपछि आज सोमबार बजार अनुगमन गरिएको हो ।

नगरपालिकाको अगुवाइ तथा यससँग सरोकार राख्ने विभिन्न कार्यालयको सहभागितामा बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । बजार अनुगमनको क्रममा अनुगमन टोलीले मङ्गलसेन बजार क्षेत्र भित्रका २९ वटा पसलको अनुगमन गरेको छ । जस अन्र्तगत ३ वटा क्लिनिक, २ वटा एग्रोभेट र १ वटा मदिरा डिलरको अनुगमन गरेको हो ।

सोही क्रममा बजार क्षेत्र भित्र मासुको कारोबार गरिरहेका दुईवटा पसलको आवश्यक सामाग्री जफत गरिएको छ भने पीपलचौतारा नजिकै रहेको भाट मासु पसल सिल गरिएको छ । यसभन्दा अघि पटकपटक अनुरोध गर्दापनि अटेर गर्ने व्यापारीहरूको सामाग्री जफत गर्नुका साथै सिल गर्ने काम गरिएको नगरपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नरेश कठायतले जानकारी दिनुभएको छ ।

अन्य होटल, खाजा पसल र खुद्रा पसलेहरूले पनि सरसफाइमा ध्यान नदिएको, पसल दर्ता तथा नवीकरण नगरेको पाइएकाले त्यस्ता व्यापारीहरूलाई आवश्यक सुझाव सहित १ हप्ता भित्र प्रकृयामा आउन अनुगमन टोलीले निर्देशन दिएको कठायतले बताउनुभयो ।

मङ्गलसेन बजारका व्यापारीहरूले पनि बजार क्षेत्रको सरसफाइका लागि प्रत्येक दिन टिपर पठाउनुपर्ने, नालीमा देखिएको समस्या समाधान गर्नुपर्ने अटेर गर्ने ब्यापारलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका थिए । मङ्गलसेन बजार क्षेत्रमा विगतको भन्दा धेरै कुरामा सुधार आएकाले यो अनुगमनको पाटोलाई आगामी दिनमा पनि निरन्तरता दिइने नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीले बताउनुभयो ।

यो स्थानीय सरकारको नियमित कार्य अन्र्तगत पनि पर्ने भएकाले यो अभियानलाई निरन्तरता दिइने र मङ्गलसेन बजारलाई हरेक हिसाबले व्यवस्थित बनाउने योजना रहेको रहेको उहाँको भनाई छ । बजारलाई सुन्दर बनाउन फोहोर व्यवस्थापन गरिने र जुन व्यापारीले आफ्नो पसल अगाडि फोहोर गरेको त्यो फोहोर उसै व्यापारीलाई सफा गर्न लगाउने र यस्ता गल्तीहरू दोहोर्याइ रहेमा फोहोर व्यवस्थापन शुल्क समेत तोकिने बताउनुभयो ।