निर्वाचन सामग्री बोकेर गइरहेको जिप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते


पैरवी खबर

निर्वाचन सामग्री बोकेर गइरहेको जिप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते

धनगढीः जुम्ला खलंगादेखि तातोपानी ८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जॉदै गरेको जिप दुर्घटना भएको छ। भे १ च २१८८ नम्बरको जिप तातोपानी ४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकदेखि करिब २० मिटर तल खसेको छ। 

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एक जना कार्यालय सहयोगी घाइते भएका छन्।

घाइतेमध्ये प्रहरी हवलदार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए। अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी, डिएसपी नरेन्द्र चन्दसहितको टोली अस्पताल पुगेको छ।