एकेन्द्र महता, अछाम
नेकपा एमालेका नेता भीम रावलले दशौँ महाधिवेशनमा आफ्नो एजेण्डाले जितेको बताउनु भएको छ। गृह जिल्ला अछामको साँफेबगरमा एमालेका कार्यकर्ताहरुलाई बुधबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँँले भन्नु भयो जनताको अपार माया र स्नेहबाट अघि बढेको छु। म पटक–पटक विजयी भएको हो। हामीले यहाँबाट काँधमा चढाएर कयौँलाई संसदमा पु¥याएका हौँ, उहाँले भने, मैले यो राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको पक्षमा आवाज उठाएको थिएँ। मिचिएका सीमानाबाट विदेशी हस्तक्षेप हट्नु पर्छ भनेको हो। महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट म विचलित भएको छैन। उहाँले मातृभूमिबाट विदेशी बुट बजारि रहँदा, लिम्पियाधुरामा भारतीय अतिक्रमण भई रहँदा केही नेताहरु एमसीसी पास गरेर आफ्नो पद बचाउन लागेका आरोप पनि लगाउनु भयो। तर उहाँले यो देशलाई उपनिवेश हुन नदिने पनि बताउनु भएको छ। उहाँले एमालेको दशौँ महाधिवेशनमा जनताको बहुदलीय जनवाद सुहाउँदो गतिविधि नभएको पनि बताउनु भयो। दशौँ महाधिवेशनमा मैले अध्यक्ष पदमा उम्म्दवारी दिएको थिएँ। प्रतिनिधि चयनदेखि उम्मेदवारी र चुनाव हुने शिलशिलामा के के भए? एउटा कम्युनिष्ट पार्टीलाई सुहाउने कुरा भए कि भएनन् त्यहाँ?, उहाँले भन्नु भयो, हाम्रो पार्टीको बहुदलीय जनवादले प्रत्येक पार्टीलाई प्रतिस्पर्धामा जाने अधिकार दिएको छ। चुनाव लड्न पाउँदैनस्, उम्मेदवारी दिन पाउँदैनस् भन्छन् भने त्यो निरंकुशता हुन्छ। उहाँले आफू अध्यक्षमा हार्दैमा केही फरक नपर्ने पनि बताउनु भएको छ। आठौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा लडेका थिए। म उहाँकै समूहबाट उपाध्यक्षमा लड्दा हारेँ। अहिलेको महाधिवेशनमा देशभक्तिको झण्डा उठेको छ, उहाँले थप्नु भयो। तर मैले एमालेमा जितेको छु, हारेको छैन। पदमा कसले हारेको छैन र? आठौँमा ओलीसँगै हामीले हारेका हौँ। मान्छे त्यति बेला हार्छ जब उसको देशभक्ति डगमगाउँछ। रावलले गुटको स्वार्थलाई मानि राख्ने मानिसहरु चितवनमा हारेको पनि बताउनु भएको छ। गुटको स्वार्थलाई माथि राख्ने मानिस पराजित हुन्छ। म चितवनको महाधिवेशनबाट पराजित भएको छैन, उहाँले भन्नु भयो, स्वच्छ निर्वाचन भन्दा अनेक प्रकारका अनियमित अवाञ्छित गरेर पनि जितेँ भन्ने लाग्ला। तर मेरो एजेण्डाले जितेको छ मैले हारेको छैन। यस्तै उहाँले कसैलाई पनि तँ उम्मेदवार हुन पाउँदैन भन्नु निरंकुशता भएको बताउनु भएको छ। उहाँले चितवनमा भएको दशौँ महाधिवेशनमा आफू बाहेक अछाम जिल्लाबाट केन्द्रीय सदस्यमा ईच्छा र आकांक्षा राख्ने व्यक्तिहरु माथि पनि धेरै ठूलो अन्याय भएको बताउनु भएको छ। उहाँले भन्नु भयो पक्षपात भएको छ, लामो समयसम्म पार्टी संगठनमा काम गरेकालाई पनि केन्द्रीय सदस्य दिईएको छैन, त्यो अन्याय र पूर्वाग्रह भएको बताउनु भयो। उहाँले हाम्रा तपाईंहरू कोही पनि निराश नहुनु होला, रावले भन्नु भयो, राजनीतिमा अनेक घुम्तीहरू आउँछन्। उच्च मनोवल राख्नुहोस्। समाज र देशका लागि हामीले यी पाईला चालेका हौं भनेर अठोटका साथ अघि बढ्नुहोस्। मेरो साथ तपाईंहरूलाई छ। रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताउनु भएको छ। उहाँले भन्नु भयो, मैले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको हो। जितिनँ। त्यसमा मन खुम्च्याउनु पर्ने कुनै कारण छैन। चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको उहाँको भनाई रहेको छ। मैले नैतिक रुपमा हारेँ भन्ने मेरो मनमा छैन, रावलले भन्नु भयो, मैले झण्डा बिसाएर कसैको लट्ठी समाएर हिँडेको छैन। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि अस्वीकार गरेको रावलले बताउनु भयो। स्वागत कार्यक्रम नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको थियो। स्वागत कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। स्वागत कार्यक्रमको संचालन नेकपा एमालेकी नेतृ सिता कुँवरले गर्नु भएको थियो।