मन्दिरमा आफुहरुलले पुजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा चितवनमा एक दलित व्यक्तिको हत्या गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–४ का ५८ बर्षीय भिम बहादुर विश्वकर्माको कुटपिट गरेर हत्या गरिएको हो । स्थानीय युवाहरु दिलिप श्रेष्ठ र सिताराम क्षेत्रले उनको हत्या गरेका हुन् ।
विश्वकर्माले गत असोज २८ गते (दशैको महानवमीको दिन) भरतपुर महानगरपालिका ४ स्थित दुर्गा मन्दिरमै गएर दलितहरुले पनि पुजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाएका थिए । सो दिन त्यहाँ धार्मिक परम्पराअनुसार पुजाको कार्यक्रम भइरहेको थियो । त्यो मन्दिरमा दलितहरुलाई पुजा गर्न पहिलेदेखि नै प्रतिवन्ध थियो ।
यसपाली दलितहरुलाई उक्त मन्दिरमा पुजा गर्न दिनुपर्छ भनेर विश्वकर्मा आवाज उठाएका थिए । सो क्रममा श्रेष्ठ र क्षेत्रीले ‘त कामीले मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै इट्टा र पाइपले हानेर हत्या गरेको बताइएको छ । उनीहरुले टाउको गिद्दी नै बाहिर निस्कने गरि बिभत्स हत्या गरेको स्थानीय अधिकारकर्मी लछुराम विकले जानकारी दिए ।
यस घटना विरुद्ध मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यलय चितवनमा जाहेरी दिइसकेका छन् । उनले कर्तव्य ज्यान मुद्दा अन्तरगत जाहेरी दिएका छन् । उक्त जाहेरी दर्ता पनि भइसकेको छ । अब जातीय विभेद सम्बन्धी ऐनअनुसार पनि मुद्दा हाल्ने तयारी भइरहेको लछुराम विकले बताए ।
हाल श्रेष्ठ र क्षेत्रीलाई जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा राखिएको छ । हाल उनीहरु माथि सोधपुछ भइरहेको डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।
अहिले मृतक विश्वकर्माको शरिरको पोष्टमार्डम गरिसकिएको छ । तर, पोष्टमार्डमको रिपोर्ट भने नआइसकेको मृतकका छोरा किसान विकले जानकारी दिए ।
कतिपयले विक रक्सी खाएर आएर हल्ला गरेको आरोप पनि लगाएका छन् । तर, मृतकका छोरा किसानले आफ्नो बाबु रक्सी खाएर हल्ला गर्ने खालको नभएको बताए । ‘चाडपर्वको समयमा अलि अलि रक्सी खानु स्वभाविक हो । अरुले पनि खाएका हुन्छन्,’ उनले भने, ‘रक्सी खाएपनि ज्याननै लिनुपर्ने आवश्यक किन ? यो मुद्दालाई कम्जोर बनाउनका लागि मात्र यो बिषयललाई माथि ल्याइएको हो ।’
यता डिएस्पी अधिकारीलले भने यस मुद्दामा जातीय विभेदको बिषय जोडिएको जानकारी नआएको बताए । ‘शुक्रबारसम्म यस घटनामा जातिय बिभेद पनि जोडिएको छ भनेर जानकारी आएको थिएन । मृतकले मादक पदार्थ सेवन गरेर हल्ला गरेको भन्ने जानकारी आएको थियो । तर, मादक पदार्थ सेवन गर्दा पनि हत्या नै गर्नुपर्छ भन्ने होइन,’ उनले भने, ‘अहिले यस घटनामा जातिय बिभेदको बिषय पनि जोडिएको जानकारी आएको छ । यस बिषयमा रहेर पनि हामीले अनुसन्धान गर्छाै ।’
यसै सन्दर्भमा वडा अध्यक्ष सहित बिभिन्न पार्टीको २ जना प्रतिनिधि बनाएर भिम बहादुर बिक न्यायिक समिति पनि बनाइएको छ । उक्त समितिले यस घटनाको बिषयमा आवश्यक दवाव दिने काम गर्ने अधिकारकर्मी लछुराम विकले जानकारी दिए ।