दुई महिनापछि कोल्टी पुग्यो चामल


पैरवी खबर

दुई महिनापछि कोल्टी पुग्यो चामल

बाजुरा : हिन्दुहरुको महान पर्व दशैं नजिकिदै गर्दा बाजुराको कोल्टीमा चामल पुगेको छ। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो।
निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो। चामलको चरम अभाव भएको बेला चामल ढुवानी भएको छ।
निरन्तरको वर्षाका कारण साँफे–मार्तडी तथा मार्तडी–कोल्टी सडक खण्ड नखुलेपछि चामल कर्णाली करिडोरबाट ढुवानी गरेको हो। कोल्टी डिपोका लागि चामल ढुवानीको जिम्मा सुचदेवि अर्डर सप्लायर्सले लिएको थियो।
सुचदेवि अर्डर सप्लायर्सले कर्णाली कोरिडोरबाट चामल ढुवानी गरेर खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा पुगाएको हो। व्यापार कम्पनी र सप्लायर्सको कार्तिकबाट चामल ढुवानी गर्ने सम्झौता भएपनि चामलको चरम अभाव र आमसर्वसाधारणलाई सास्ती भएको भन्दै कठिनका साथ चामल ढुवानी गरेको सप्लायर्सले जनाएको छ।
दशैंको मुखैमा खाद्यमा चामल अभाव भएको र सडकका कारण बजारमा महङ्गो मुल्य तिरेर खानु पर्ने बाध्यता सर्वसाधारणलाई परेको भन्दै चामल समयमै ढुवानी गरेको हो।
साँफे–मार्तडी सडक करिब साढे पाँच महिना पुगिसक्दा पनि सडक खुलेको छैन् सडकका कारण मार्तडीबाट ढुवानी गर्न समस्या भएपछि कर्णाली करिडोरबाट चामल ढुवानी गरी कोल्टी डिपोमा पुगाएको सुचदेवि अर्डर सप्लायर्सका प्रो नन्द महताराले बताएका छन् ।
चामल ४ सय क्विन्टल ५० केजी ढुवानी गरेको महतारले बताए। कोल्टी डिपोमा चामल पुगिसकेकाले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले तत्काल सर्वसाधारणलाई चामल वितरण गर्ने जनाएको छ।
सम्झौता अगावै विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै चामल ढुवानी गर्ने ठेकेदारलाई कोल्टी डिपाले धन्यवाद दिएको छ। दशैंको मुखैमा चामल अभावले आमसर्वसाधारणले सास्ती खेप्नु परेको थियो। चामल ढुवानी भएपछि सर्वसाधारणको मुखमा खुसी छाएको छ।