कंचनपुर : कञ्चनपुर क्षेत्र नम्बर १ का ४ वटै पालिकामा दलित पदाधिकारीलाई शुल्य गरिएको भन्दै ३६ जना दलित नेता कार्यकर्ताहरूले क्षेत्रीय सभापतिलाई सामूहिक राजीनामा पेश गरेका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ अन्तर्गतका बेलडाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा सम्पन्न भएको वडा तथा पालिका अधिवेशनबाट पालिका स्तरीय समितिको मुख्य पदाधिकारीमा एक जना पनि दलित नअटाउनु र पुरै प्यानल विजय हुँदा समेत दलित उम्मेदवार मात्रै पराजित हुनु दलित समुदायलाई षड्यन्त्र र अपमान भएको ठहर गर्दै दलित क्रियाशील सदस्यहरूले गम्भीर आपत्ति समेत जनाएका छन् ।
दलित समुदायको हकहित र अधिकार सुनिश्चितताका लागि अहोरात्र खटिएको स्मरण गराउँदै उनीहरूले नेतृत्व पङ्क्तिसम्म पहुँच स्थापित हुन नसक्दा दलितका सवालहरू बुलन्द हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका दलित क्रियाशील सदस्यहरूको शनिबार बेलौरीमा बसेको बैठकले पार्टी पङ्क्तिमा केन्द्रीय तहदेखि वडा तहसम्म अनेक प्रकारका राजनीतिक विभेद कायमै रहेको निष्कर्ष निकाल्दै अब देखि तटस्थ रहने निर्णय गर्दै क्षेत्रीय सभापति समक्ष राजीनामा दिएका छन् ।