अलपत्र परेकी बाजुराकी महिलाको भारतबाट उद्धार
शेरबहादुर सार्की
बाजुरा,भदौ १८ गते
लामो समय देखि भारतमा अलपत्र परेकी बाजुराकी एक महिलालाई शाान्ती पुर्नस्थापना गृह गड्डाचौकी कञ्चनपुरले उद्धार गरीएको छ ।
खप्तड छेडेदह गाउँपालिका वडा नं. २ की नरु उखेडालाई भारतमा अलपत्र परेको अवस्थामा उद्धार गरिएको शाान्ती पुर्नस्थापना गृह गड्डाचौकी कञ्चनपुरका कार्यालय प्रमुख सञ्जित सिहंले बताउनुभयो ।
उहाँले भन्नुभयो, बाजुराको बूढीगङ्गा नगरपालिका ७ को झाली माइत र खप्तड छेडेदह गाउँपालिका २ जयवाग्यश्वरीमा पोइल गएकी नरु उखेडाको श्रीमानले दोस्रो विवाह गरेपछि भारतमा अलपत्र पर्दै आएकी थिइन् । नरु उखेडाको खप्तड छेडेदह गाउँपालिका २ जयवाग्यश्वरीका शक्ति सुनारसँग प्रेम विवाह भएको थियो । उनका श्रीमान शक्ति सुनारले पछि अर्को विवाह गरेपछि नरु उखेडा मानसिक तनावका कारण भारतमा अलपत्र पर्दै आएकी हुन् ।
खप्तड छेडेदह गाउँपालिका २ की नरु उखेडाले भन्नुभयो, मेरो शक्ति सुनारसँग प्रेम विवाह भएको झण्डै पाँच वर्ष भयो । अहिले म बाट दुइ छोरा छन् । रोजगारीका लागि हामी दुवै भारतमा गएका थियौ । भारतमा भएको केही समयपछि मलाई र छोरा छोरीलाई अलपत्र पार्दै श्रीमानले अर्कैसँग विवाह गर्यो ।
लाउ लाउ खाउ खाउ भन्ने उमेरमा यसरी श्रीमानले अर्कैसँग विवाह गरेपछि छोरा छोरा कसरी पाल्ने भन्ने तनावका कारण म अलपत्र परेकी हुँ । उहाँले भन्नुभयो, म धेरै दिन लगाएर भारतको बन्वासामा आइपुगेकी रहेछु । त्यहिबाट मलाई शान्ति पुर्नस्थापना गृहले उद्धार गरेर सुरक्षितसँग बाजुरा पठाइ दिएको हो ।
लामो समयपछि अलपत्र अवस्थामा परेकी नरु उखेडा अहिले सामान्य अवस्थामा रहेको र उनको न्यायका लागि गाउँपालिकाको न्याय समितिमा वहुविवाह सम्बन्धी मुद्दा हाल्ने काममा सहयोग गरिरहेको खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष तथा न्याय समिति संयोजक कुन्ती बुढाले बताउनुभयो ।